कञ्चनपुरमा खुकुरी प्रहारबाट तीन जना घाइते

धनगढी । कञ्चनपुरमा एक जनाको खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । जिल्लाको पुनर्वास नगरपालिका९२ मोती बस्तीका टेकबहादुर सार्कीले खुकुरी प्रहार गर्दा सोही वडाको अमरैयाका ४७ वर्षीय बिरासिंह राना, ३८ वर्षीया मधु महता र ४५ वर्षीया धनसरा रावत घाइते भएका छन् ।
घाइतेमध्ये मधु महताको अवस्था गम्भीर रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । उनको टाउको र छातीमा गहिरो चोट लागेको छ । उनलाई उपचारका धनगढी पठाइएको छ । अन्य दुई जनाको स्थानीय बिएम पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
स्थानीयका अनुसार सार्कीले बिरासिंहलाई पसलमा बसेको बेला बिना कारण एक्कासी आएर अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । उनको टाउकोमा चोट लागेको छ । त्यसैगरी धनसरा र मधु घाँस काटेर आउँदै गर्दा उनीहरू माथि आक्रमण भएको स्थानीयले बताएका छन् ।
खुकुरी प्रहार गर्ने टेकबहादुर सार्कीलाई नियन्त्रणमा लिइसकेको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका वरिष्ठ प्रहरी नायब निरीक्षक गोपाल बोहराले बताए । स्थानीयका अनुसार खुकुरी हान्ने सार्की मानसिक रोगी हुन् । यद्यपि मानसिक रोगी भएरनभएकोबारे मेडिकल रिपोर्टबाट मात्र खुल्ने प्रहरीले जनाएको छ ।








