साहित्यका माध्यमबाट सडक सुरक्षा सम्बन्धी ट्राफिक जनचेतना प्रवर्द्धन कार्यक्रम सम्पन्न

काठमाडौँ । मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित साहित्यका माध्यमबाट सडक सुरक्षा सम्बन्धी ट्राफिक जनचेतना प्रवर्धन कार्यक्रम काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीका कुलपति गंगा प्रसाद उप्रेतीले शान्ति सु-व्यवस्था लगायत बढ्दै गएको सडक सुरक्षामा ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण हुने बताए । ट्राफिक प्रहरीले सडक सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि साहित्य समाज, विद्यार्थी, युवावर्ग लगायतका हरेक समुदायसँग जनचेतनामूलक अन्तरक्रिया कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विचार उनले व्यक्त गरे । साथै उनले ट्राफिक प्रहरीले सञ्चालन गर्ने हरेक कार्यक्रमलाई प्रवर्धन र सहयोग गर्न नेपाल प्रज्ञा प्रतिष्ठान सदैव तयार रहेको उल्लेख गरे ।
उक्त अवसरमा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले समाजका हरेक वर्गसम्म सडक सुरक्षालाई जोड्न साहित्यले अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । साथै उनले आफ्नो रचनामा ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउने विषय राख्न साहित्यकारहरूलाई आग्रह समेत गरे ।
कार्यक्रममा कविहरू डा. कृष्णहरि बराल, डा. रजनी ढकाल, डा. साधना प्रतीक्षा, धीरेन्द्र प्रेमर्षि र भीष्म उप्रेतीले आ-आफ्नो रचना वाचन गरेका थिए । साथै उनीहरूसँग साहित्यमा ट्राफिक चेतनाका कुरा, साहित्यमा सुरक्षाका कुरा, साहित्य, सडक, समाज र सुरक्षाका कुरा, साहित्यका आँखामा ट्राफिक प्रहरी लगायतका विषयमा अन्तरक्रिया समेत भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मेट्रो ट्राफिक एफएमका स्टेसन म्यानेजर प्रहरी नायव उपरीक्षक जयशंकर शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय समेतका प्रहरी अधिकृतहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत साहित्य क्षेत्रका आमन्त्रित व्यक्तित्वहरू समेतको उपस्थिति रहेको थियो ।








