कुनैबेला नेपालको क्याबिनेटमा भारतीय प्रतिनिधि हुन्थे, गठबन्धन त्यही बाटोमा जाँदैछः पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार भारतपरस्त भएको आरोप लगाएका छन् । नेपालको क्याबिनेटमै कुनैबेला भारतीय प्रतिनिधि समेत रहने गरेको उल्लेख गर्दै पोखरेलले हालको सरकार त्यही बाटोमा रहेको बताए ।
‘अर्थमन्त्रीले बजेट निर्माण गर्दा जे चलखेल गरे यसबाट राष्ट्रकै शिर झुकेको छ । भारतीय नागरिकलाई सल्लाहकारका रूपमा मन्त्रालयमा प्रवेश गराएपछि यो गम्भीर विषय हो,’ पोखरेल भन्छन्, ‘कुनै बेला नेपालको क्याबिनेटमा भारतीय प्रतिनिधि पनि हुन्थे रे । गठबन्धनले मुलुकलाई त्यही बाटोमा लैजाँदैछ । त्यसैको शृङ्खलाका रूपमा सत्ता गठबन्धन आज दिल्ली पुगेको छ । नेपालीको स्वाभिमान झुकेको छ ।’
उनले गठबन्धन सरकारको नीतिगत विचलन र सेटिङका कारण अहिलेको आर्थिक संकट पैदा भएको आरोप लगाए । एमालेको सरकार आए अहिलेको आर्थिक संकट सजिलै पार लाग्ने उनको भनाई छ । देशको समृद्धिमा भने गठबन्धन आवश्यक नपर्ने पोखरेलको तर्क छ । ‘व्यवस्था विरोधी आन्दोलनमा धेरै दलहरू मिल्न सक्छन् । हामी पनि राजसंस्था र राणा शासन फाल्न एकै ठाउँमा थियौँ । तर राष्ट्र निर्माणमा गठबन्धन हुनु हुँदैन । दुनियाँमा कतैपनि गठबन्धनबाट समृद्धि प्राप्त भएको छैन,’ उनले भने, ‘देशलाई समृद्धिमा लैजान बलियो शक्ति आवश्यक छ । यो गठबन्धनले स्वार्थको सौदावाजी र वैदेशिक चलखेल निम्त्याएको छ ।’
उनले नेपालमा धेरै राजनीति पार्टीहरू आवश्यक नभएको भन्दै ध्रुवीकरणमा जान सुझाएका छन् । ‘समृद्धिका लागि राजनीतिक ध्रुवीकरण आवश्यक छ । धेरै पार्टीहरू देशमा आवश्यक छैन,’ उनले भने, ‘बुर्जुवा बाटोको प्रतिनिधित्व कांग्रेसले गर्छ । प्रगतिशील बाटोमा एमाले हिँड्छ । सबै यही पार्टीमा ध्रुवीकरण भए हुन्छ ।’ उनले आगामी निर्वाचनमा ध्रुवीकरण हुने बताए । उनले अर्थमन्त्रीले कालो धनलाई सेतो बनाउन लाग्दा गभर्नरमाथि प्रहार गरिएको बताएका छन् ।
‘कालोधनलाई सेतो पार्ने उद्देश्य छ । यति सामान्य कुरालाई चर्चाको विषय किन बनाइएको छ ? सामान्य कुरा हो ? एउटा व्यक्तिको नाम कमिटीमा रहेको चर्चाकै आधारमा यत्रो बबण्डर गर्नुपर्ने ?,’ उनले थपे, ‘यहाँ महाप्रसाद अधिकारीलाई राजनीतिक आबद्धताका नाममा हटाउन सकिन्छ कि भन्ने योजना बनाउनेहरूले यो बहस गरिराखेका छन् । राष्ट्रियताका मामिलामा यति गम्भीर अपराध गर्न मिल्छ ?’ काठमाडौँका फेक न्युज कारखानाहरूले अनावश्यक रूपमा घटनालाई बढाई चढाइ गरेको उनको आरोप छ ।









