अध्यक्षले एकलौटी गरेको भन्दै भीमसेन गाउँपालिकाका सदस्यले गरे गाउँसभा बहिष्कार

पोखरा । गोरखाको भीमसेन थापा गाउँपालिकामा बजेट अधिवेशन चलिरहेको छ । बजेट निर्माणका लागि गाउँसभा बसिरहेको छ । तर, गाउँपालिका अध्यक्षले एकलौटी रूपमा योजना छनोट गरेको र बजेट छुट्टाएको भन्दै २० जना सदस्यहरूले सभा बहिष्कार गरेका छन् ।

बजेट निर्माणका लागि योजना छनोटको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्षलाई दिइएको छ ।

उपाध्यक्षले गरेको काममा अध्यक्षले हस्तक्षेप गरेकाे उपाध्यक्ष अमृतादेवी वस्तीले बताइन् । उनले उपाध्यक्षलाई भूमिकाविहीन बनाएको आरोप लगाएकी छन् ।

‘योजना छनोट र बजेट निर्माणमा बहुमतको दम्भ देखाइएको छ । उपाध्यक्षले छानेका योजना फालेर नयाँ योजना हालिएको छ,’ उनले भनिन्, ‘न्यायिक समिति गठनमा मलाई कुनै सल्लाह गरिएको छैन । आफै सदस्य प्रस्ताव गरिएको छ । उपाध्यक्षलाई भूमिकाविहीन बनाउन अध्यक्षले गलत काम गर्नुभयो ।’

पालिकाले गठन गरेका समितिमा समेत एकलौटी गरेको आरोपमा माओवादी बाहेकका २० सदस्यले सभा छोडेर हिँडेका हुन् । यहाँ अध्यक्ष माओवादीबाट निर्वाचित भएका छन् भने उपाध्यक्ष कांग्रेसबाट निर्वाचित भएकी हुन् ।

शुक्रवार प्रेस विज्ञप्ति जारी गरी उनीहरूले कार्यपालिका बैठकमा समेत प्रस्तावहरूमाथि छलफल नभएको र अध्यक्षले बहुमतको आडमा जबरजस्ती गर्न खोजेको आरोप लगाएका छन् । तर, अध्यक्ष लोकप्रसाद बन्जाराले भने सहमतिमै काम गरिरहेको बताए । सभामा प्रस्ताव पेस गर्न नपाउँदै उनीहरू उठेर हिँडेको अध्यक्षको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =