भरतपुरलाई देशकै नमुना सहर बनाउने मेयर रेनु दाहालको प्रतिबद्धता

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर देशकै नमुना सहर बनाउने प्रतिबद्धता गरेकी छन् ।

उद्योग वाणिज्य संघ चितवनले बुधवार नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले नमुना सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम अघि बढेकाले भरतपुर नमुना सहर बन्ने दाबी गरिन् ।

मेयर दाहालले भरतपुर शिक्षाको सहर, स्वास्थ्यको सहर, कृषिको सहर, झिलिमिली बत्तीको सहर, पर्यटनको सहरको हुँदै बहुआयमिक सहरका रूपमा अघि बढी रहेको बताइन् ।

‘महानगरले शिक्षामा उल्लेख्य फड्को मारेको छ’ उनले भनिन्, स्वास्थ्यको त हब नै हो । कृषि उत्पादनलाई यस वर्ष प्राथमिकतामा राखेका छौ । मुख्य बाटोमा स्मार्ट बत्ती जडान हुने काम चल्दैछ । भरतपुर नमुना हुँदैछ ।’

‘भरतपुरको विकासका लागि ‘भरतपुर भ्रमण वर्ष २०८० पनि घोषणा गरेका छौँ, यो अवधिमा पर्यटकलाई भरतपुरको विकासलाई देखाउने लक्ष्य लिएका छौँ’ मेयर दाहालले भनिन्।
भरतपुरलाई बहुविषेशतायुक्त सहरको रूपमा विकास गर्ने गरी सन्तुलित विकास अगाडि बढाइएकाले भरतपुर नमुना सहरको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचित हुने मेयर दाहालको भनाइ छ ।

भरतपुर महानगरमा निर्माणाधीन सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, प्रशासकीय भवन, नारायणी तटबन्धलगायतको राष्ट्रिय गौरवको आयोजन निर्माण भएसँगै यहाँको चित्र फेरिने उनले जिकिर गरिन् ।

स्थानीय सरकारको पहलमा मात्र भरतपुरको विकास नहुने भन्दै मेयर दाहालले निजी क्षेत्रको सहकार्यमा दीर्घकालीन महत्त्वका विकासका योजनाहरू अगाडि बढाउन सकिने उनको भनाइ छ । ‘निजी क्षेत्र विकासका पिल्लर हुन्’ उनले भनिन्, ‘निजी क्षेत्रको सहकार्यमा व्यवस्थित सहर बनाउन सकिन्छ । भरतपुर महानगर निजी क्षेत्रसँग धेरैभन्दा धेरै सहकार्य गर्न तयार छ । निजी क्षेत्रको सल्लाह अनुसार महानगरले विभिन्न गतिविधि गर्दै आइरहेको छ । भरतपुरको राजस्व वृद्धि गर्न निजी क्षेत्रको ठूलो भूमिका छ ।’

मेयर दाहालले भरतपुरको आन्तरिक आय वृद्धि गर्दा भरतपुरको थप विकास हुने भएकाले करको दायरा फराकिलो बनाउँदै आम नागरिकलाई कर बारे बुझाउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको विकासमा यहाँको निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले निजी क्षेत्र र आम सर्वसाधारणको प्रयासले समृद्ध महानगर बन्नेमा विश्वास समेत व्यक्त गरेका थिए ।

उप प्रमुख अधिकारीले महानगरका ठुला र महत्त्वपूर्ण आयोजनाहरू छनौट गर्दा निजी क्षेत्रसँग छलफल र सहकार्य गरेर नै गर्ने गरेको समेत प्रस्ट पारे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सहनलाल प्रधान, उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, पूर्व अध्यक्ष रमेश कुमार पियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =