जहाँ हेलिकोप्टरबाट पैसा बोकेर भत्ता बाँड्नुपर्छ…

पोखरा । अहिलेसम्म पालिकामा सडक सञ्जालले छोएको छैन । गण्डकी प्रदेशमै सडक सञ्जाल नपुगेका २ पालिका छन्, गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि ।

सडक नपुगेका कारण विकास निर्माणदेखि दैनिक कामकाजमा समेत निकै सकस छ । जसका कारण गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता समेत सधैँ हेलिकोप्टर चार्टर गरेर लैजानुपरेको छ ।

गाउँपालिका केन्द्रमा रहेको एक मात्र कुमारी बैङ्कले पालिकाको समन्वयमा चालू वर्षको सामाजिक सुरक्षा भत्ता, योजनाको भुक्तानी लगायत विभिन्न कामका लागि एकै पटक ५ करोड रुपैयाँ हेलिकोप्टरबाट चार्टर गरेर लगिएको छ । बैङ्कको शाखा रहेको वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता बैङ्कबाट र अन्य वडामा बैङ्कका कर्मचारी वडा कार्यालय पुगेर वितरण गर्ने गरिएको छ ।

बैङ्कको शाखामा पैसा नभएपछि पालिकाको योजना भुक्तानी समेत रोकिएको थियो । ‘बाटो छैन । हेलिकोप्टर मात्रै एउटा विकल्प हो,’ कुमारी बैङ्क सिर्दीबासका म्यानेजर कृष्ण पोखरेलले भने, ‘बैङ्कमा पैसा सकिएपछि कामै रोकिन्छ । धेरै समस्या छ ।’

अहिले धमाधम भुक्तानी दिन थालिएको छ । पालिका अध्यक्ष निमा लामाले जनताको सेवाका लागि हेलिकोप्टरबाटै भएपनि ढुवानी गरेको बताए । ‘काम रोकिएपछि गर्नैपर्‍याे । विकट ठाउँमा यस्तै समस्या हुन्छ,’ उनले भने, ‘सरकारले छिटो बाटो बनाइदियो भने सजिलो हुन्छ ।’

अहिले त्यहाँ सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । नेपाली सेनाले विभिन्न खण्डमा काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *