बाढीको उच्च जोखिममा रहेका १५ परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्न माग

धनगढी। कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नापुरका स्थानीयवासीले उच्च जोखिममा रहेका १५ घर परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार फियान नेपाल प्रदेश कार्यालयद्वारा गरेको डेलिगेशनमा शिवरत्नापुरका बाढी प्रभावित समुदायले जिल्ला विपद् व्यवस्थापन समिति कैलाली र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेका हुन् । स्थानीयले उच्च जोखिममा रहेका १५ घर परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने माग राखेको शिवरत्नापुर खाद्य अधिकार समूहका सचिव कमल चौधरी बताए ।

ज्ञापनपत्रमा बाढीको समयमा तत्काल उद्धार कार्यका लागि आवश्यक औजार, उपकरण तथा प्लाष्टिकको डुंगाको व्यवस्था गर्नुपर्ने माग राखिएको छ,’ उनले भने, ‘शिवरत्नापुर मोहना नदीका कारण तत्काल १५ घर परिवार उच्च जोखिममा रहेका छन्  भने बाँकी ८० घर समेत जोखिममा रहेका छन् । बस्तीमा एक्कासी बाढी आउँदा सुरक्षित ठाउँमा सार्न एक डुङ्गा पनि छैन ।’

मोहना नदीको कारण सम्बन्ध विच्छेदको अवस्था रहेका र विगत तीन वर्षदेखि निर्माणाधीन झोलुङ्गे पुल यथासम्भव चाँडो निर्माण सम्पन्न गरी सुरक्षित आवागमनको सुनिश्चितताका लागि आवश्यक पहल गर्न माग राखेको उनले बताए । गर्भवती तथा बालबालिकालाई खोप लगाउन नदी पार गरेर खोनपुर, भडरी आउनु पर्ने बाध्यता रहेकोले दुई वर्ष अघि शिवरतनपूरमा निर्माण भएको खोप केन्द्र तत्काल सञ्चालनको लागि पहल गर्न माग राखिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय, कैलाली मार्फत खोनपूर झोलुंगे पुल आर्थिक वर्ष २०७७ मा टेण्डर आव्हान गरी ठेक्का मार्फत निर्माण कार्य थालनी गरिए पनि हालसम्म उक्त पुल निर्माण हुन सकेको छैन ।

ज्ञापनपत्रमार्फत् मोहना नदीको बाढीको कारणले वर्षेनी हुने डुबान, कटान र पटानबाट बस्ती, आम नागरिक, पशु चौपाया तथा खेतियोग्य जमिनको संरक्षणका लागि विशेष गुरुयोजना निर्माण गरी तत्काल कार्यान्वयन पनि माग राखिएको छ ।

कैलारी गाउँपालिका–३ सुर्मिलाना पुलदेखि (हुलाकी मार्ग) दक्षिण करिब २।५ किलोमिटरमा मोहना नदी पारि शिवरत्नपूर गाउँबाट आउन जान सधैँ डुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता छ । दैवी प्रकोप उद्धार समिति कैलालीको अध्ययन प्रतिवेदन अनुसार कैलारी गाउँपालिका बाढीबाट जोखिमयुक्त उच्च जोखिमको सूचीमा रहेको छ । कैलारी गाउँपालिकामा पनि शिवरत्नपूर गाउँ रहेको वार्ड नं ३ अति जोखिम क्षेत्रमा पर्दछ ।

मोहना नदीमा पुल नहुँदा वर्षायाममा औषधि उपचार गर्न, दैनिक ज्यालादारीका लागि अन्यत्र जान, दैनिक उपभोग्य सामान खरिद गर्न तथा बालबालिकाहरू विद्यालय जान समेत वञ्चित हुनुपर्ने अवस्था छ ।  २०७८ कार्तिक २ गतेको अविरल वर्षाका कारण आएको बाढीले धानबाली नष्ट हुनुका साथै खेतीयोग्य जमिनमा बालुवा पटान भई खेती गर्नसमेत नमिल्ने अवस्था सृजना भएको शिवरत्नापुरका स्थानीय सुदेशी चौधरीले बताए ।

बाढीको कारण मोहना नदीको धार परिवर्तन भई कैलारी गाउँपालिकाले बस्ती जोगाउन लगाएको जैविक तथा पक्की तटबन्ध यही असार १४ र १५ गते आएको बाढीले आंशिक तथा असार २५ गते आएको बाढीले बाँकी सबै तटबन्ध भत्काई बगाएको छ ।

बाढी जहिले पनि आउन सक्ने भएकोले सरोकारवाला निकायले समयमा ध्यान दिन जरुरी रहेको फियान नेपाल सुदूरपश्चिम प्रदेश संयोजक मुकुन्द रानाले बताए । प्रभावित समुदायले जिल्ला बिपद व्यवस्थापन समिति कैलालीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश संयोजक मोहनदेव जोशीलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *