चुनावमा तालमेलका लागि मापदण्ड बनाउन काँग्रेस प्रदेश सभापतिहरूकाे सुझाव

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले आगामी चुनावमा तालमेलका लागि मापदण्ड बनाउन सुझाव दिएका छन् ।
सोमबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा उनीहरूले चुनावमा गठबन्धनलाई निरन्तरता दिँदै तालमेलका लागि आवश्यक मापदण्ड बनाउन सुझाव दिएका हुन् ।
केही सभापतिले भने काँग्रेस एक्लै चुनाव लड्दा उचित हुने धारणा राखेका थिए । त्यस्तै उनीहरूले चुनावमा टिकट वितरणलाई विधि र विधानसम्मत रूपमा लागू गर्नुपर्ने बताएका थिए ।
बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचनको प्रतिवेदन पेस गरिएको छ भने भातृ तथा शुभेच्छुक संस्थाको विधान टुङ्गो लगाउने विषय र तथा सरकारको काम कारबाहीको समीक्षा हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
तहमा केन्द्रीय सदस्यहरूको अनुभव र त्यसका आधारमा आगामी निर्वाचन गरिने रणनीतिका बारेमा बैठकमा छलफल हुने उनले बताए ।
त्यस्तै, उनले उपसभामुखको टुङ्गो लागेपछि संवैधानिक परिषद् सम्बन्धी विधेयकको विवाद समाधान हुने बताए ।
केन्द्रीय समिति बैठकमा काँग्रेस नेता शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुनेगरि तालमेल बारे पार्टीको धारणा निर्माण गर्नुपर्ने बताएका थिए ।
उनले काँग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व मात्र चयन भएको नीतिका विषयमा कुनै काम हुन नसकेकाले यथाशीघ्र नीति अधिवेशन गर्न आग्रह गरे । काँग्रेसको केन्द्रीय समिति बैठक केही चल्ने बताइएको छ ।








