गण्डकी रत्न पाएका महावीर पुन अबदेखि प्रदेश सांसदको हैसियतमा

पोखरा । प्रदेश सांसदको हैसियत सरहको सम्मान राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले पाएका छन् ।
गण्डकी प्रदेश सरकारले उनलाई उच्च सम्मान रहने गण्डकी रत्नबाट पहिलो पटक सम्मानित गरेको हो । सरकार स्थापना भएको ४ वर्ष पूरा भएको अवसरमा गत फागुन ४ गते सम्मान गर्न लागिए पनि पुन देशबाहिर भएका कारण सोमबार विशेष कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।
गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सम्मान गरे । योसँगै, अव पुन सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रममा रहनेछन् । उनले प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचार पाउनेछन् भने विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न तथा सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने छ ।
सम्मान हस्तान्तरणपछि प्रदेश प्रमुख गुरुङले पुनको राष्ट्र निर्माणमा ठूलो योगदान भएकोले प्रदेश सरकारले न्याय गरेको बताए । ‘प्रदेशले न्याय गरेको छ । सही व्यक्तिलाई सम्मान गर्नु पनि पुण्यको काम हो,’ उनले भने ।
ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा पुनको योगदान विशिष्ट रहेको उनले बताए । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाटै मुलुक समृद्ध बन्ने भएकोले त्यसको अगुवाइ पुनले गर्नुपर्ने बताए । उनले गण्डकी प्रदेशभित्र यति विशिष्ट व्यक्ति जन्मिएकोमा प्रशंसा गरे ।
पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको बताएका छन् । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको बताए ।
समितिले ३ जनालाई छान्न सक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरेको थियो । गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातायात व्यवस्था मन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।
विभूषण ग्रहणपछि महावीर पुनले अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरू समृद्ध भएको बताए । नेपाल भने अनुसन्धानमा जोड नदिएका कारण हेपिएको भन्दै बिस्तारै सरकारको आँखा खुलेको उनको भनाइ छ ।









