गण्डकीमा मन्त्रीका आफन्तकाे नाममा करोडौँ बजेट, आलोचनापछि धमाधम फिर्ता लिँदै

पोखरा । गण्डकी सरकारले आगामी वर्षको लागि बजेट सार्वजनिक गरिसकेको छ । असार १ गते बजेट वक्तव्य भएपछि लामो समय विभिन्न कार्यक्रम छुटेको आरोपमा सरकारले नै सदन अवरुद्ध ग¥यो ।

२० दिनपछि थप कार्यक्रम ल्याएर सदनमा छलफल सुरु भयो । आगामी वर्षको वार्षिक विकास पुस्तिका आइसकेको छ । बजेटमा गण्डकी सरकारका मुख्यमन्त्री, मन्त्रीदेखि सांसद र विभिन्न नेताका आफन्तको नाममा समेत बजेट विनियोजन भएको छ । दिवङ्गत भएका आमा–बाबु, आफन्त र छिमेकीको नाममा खुलेका ट्रस्ट र प्रतिष्ठानमा बजेट छुट्टाएको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र केन्द्रीय स्तरका नेताका निधन भैसकेका बा–आमाका नाममा पनि बजेट विनियोजन भएको छ । पोखरेलका बाबु गोवर्द्धन शर्माको स्मृतिमा कोष खडा गरेर ५० लाख प्रदेश सरकारबाट विनियोजन गरिएको छ ।

यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पनि आफ्नै बाबु पुननारायण र आमा धनकुमारी श्रेष्ठको स्मृतिमा ट्रस्ट बनाएर फरक दुई शीर्षकमा १ करोड विनियोजन गरिएको छ । कांग्रेस पूर्व केन्द्रीय सदस्य अर्जुन जोशीका बाबु अमृत जोशीको स्मृतिमा २० लाखको पार्क बनाउन लागिएको छ भने पर्वतकै कांग्रेस नेता डिल्लीराम लामिछानेको स्मृतिमा अर्को पार्क बनाउन २० लाख छुट्टाइएको छ ।

कांग्रेस नेता मात्रै होइन, माओवादी, जनमोर्चा, जसपा र विभिन्न पार्टी निकटका नेता र मन्त्रीले समेत यस्तो बजेट विनियोजन गर्न लगाएका छन् । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको स्मृतिमा प्रदेशका १२ ठाउँमा पार्क र भवन निर्माणका लागि बजेट दिइएको छ । कास्कीको सिक्लेसमा शान्ति स्मारक पार्क बनाउन प्रदेश सरकारले १ करोड छुट्टाएको छ । सिक्लेसबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक सार्वजनिक भएका थिए ।

कसको स्मृतिमा कति बजेट ?

यसरी बजेट विनियोजन हुनेमा थमन स्मृति पार्कका लागि १० लाख, हरिबहादुर स्मृति पार्कमा १० लाख, सहिद स्मृति पार्क बनाउन प्रदेशभरि बजेट छुट्टाइएको छ । पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ्रेमा हरिबहादुर स्मृति पार्क १० लाख, तनहुँको बन्दीपुरमा सहिद स्मृति पर्यटन पार्क ५ लाख, भानुमा सोही पार्कको लागि दुई ठाउँमा १० लाख, पर्वतको फलेवासमा ५ लाख, बागलुङको ताराखोलामा १० लाख छ ।

हेम गुरुङ स्मृति पार्क १० लाख, काठे खोलामा करिना सहिद स्मृति पार्क र निसीखोलामा तेजेन्द्र स्मृति पार्कका लागि १०÷१० लाख, स्याङ्जामा गोरखा स्मारक ट्रस्ट १० लाख, गोरखाको बारपाकमा सहिद स्मृति पार्क बनाउन ५ लाख छ ।

पाङराङ सहिद स्मृति ५ लाख, भालु पहाड सहिद स्मृति ५ लाख, रुपामा सहिद स्मृति गेट बनाउन १० लाख, अन्नपूर्णमा छवि स्मृति मार्ग बनाउन १० लाख, कावासोतीमा सहिद स्मृति मार्ग बनाउन १५ लाख, वालिङमा सपना स्मृति रिङरोड बनाउन १० लाख, कास्कीकै थम्मन महेश स्मृति प्रतिष्ठानलाई ५ लाख अनुदान दिन लागिएको छ ।

जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल स्मृति छात्रवृत्ति सञ्चालन गर्न ३० लाख, स्रष्टा स्मृति पार्क बनाउन कास्कीमा ५ लाख, रुपामा सिद्धार्थ स्मृति गुम्बा बनाउन ५ लाख, पोखरा ३ मा वीरेन्द्र स्मृति पार्क ५ लाख, पशुपति स्मृति पार्क पोखरा ३३ मा २० लाख, सहिद स्मृति पार्क रुपामा १० लाख, सहिद स्मृति प्रतिष्ठान पोखरा १९ मा २० लाख, सहिद स्मृति पार्क पोखरा १६ मा १५ लाख छुट्टाइएको छ ।

रुपाको पुष्पकमल स्मृति प्रतिष्ठानमा १० लाख, गोरखामा भीमसेन स्मृति प्रतिष्ठान बनाउन ५० लाख, सन्ध्या स्मृति पार्क घिरिङमा १० लाख, भानु २ मा सहिद स्मृति पार्क १५ लाख, भानुमा कल्याण खनाल स्मृति भवन बनाउन २० लाख, स्मृति पार्क बनाउन भानु ७ मा १० लाख, शैलजा आचार्य स्मृति प्रतिष्ठान ५ लाख, हुप्सेकोटमा प्रदुक स्मृति पार्क १० लाख छ भने कृष्ण मोहन स्मृति सभाहल १० लाख, इन्द्रमान गुरुङ स्मृति पार्क १० लाख, मदन केसी स्मृति भवन बेनीमा १२ लाख, दूधपोखरीमा सहिद स्मृति भवन बनाउन ५ लाख, सोही पालिकामा अर्को ५ लाख, रमेश स्मृति भवन १० लाख, सरला सपना स्मृति भवन १० लाख, सहिद स्मृति भवन स्याङ्जामै १० लाख, गिरी स्मृति खेल मैदान १० लाख, हर्क गुरुङ स्मृति पार्क १५ लाख, तनहुँमा सहिद स्मारिका बाटिका बनाउन २० लाख र छलिमाया स्मृति हाइवे अस्पताल बनाउन ५० लाख बजेट विनियोजन भएको छ । विभिन्न व्यक्तिका स्मृतिमा खुलेका ५० भन्दा बढी संघ संस्था र प्रतिष्ठानका लागि १० करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ ।

मन्त्री र कांग्रेस नेताले बजेट नलिने घोषणा

चौतर्फी आलोचना भएपछि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र कांग्रेस नेता अर्जुन जोशीले आफ्नो पुर्खाको नाममा विनियोजन भएको बजेट नलिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनीहरू दुवैले उक्त बजेट असहाय र दुखीको पक्षमा लगानी गर्न सरकारसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *