भौतिक मन्त्री रोकायले गीतबाट प्रश्न उठाउने सांसदलाई टुक्काबाट दिए जवाफ

‘अरुलाई भन्नुभन्दा हिजोका दिन हेर, ७९/८० बजेट कोइ नफाल्या खेर’

सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले शनिवारको बैठकमा प्रश्न उठाउने सांसदलाई टुक्काबाट जवाफ दिएका छन् । आइतबार बसेको प्रदेश सभाको दसौँ अधिवेशन अन्तर्गतको २१ औँ बैठकमा सांसदहरूले उठाएको विषयमा टुक्काबाट नै जवाफ दिएका हुन् ।

शनिवारको बैठकमा एमाले सांसद राजु नेपालीले ‘नबोली, नबोली कर्णालीको विकासमा रातो किताब आयो, योजना मन्त्रीका स्वकीय र छोराछोरीलाई भयो’ भन्दै गीति टुक्काबाट प्रश्न गरेकी थिइन् ।

मन्त्री रोकायाले पनि प्रश्नको जवाफ टुक्काबाट आएको प्रश्नको जवाफ मैले पनि टुक्काबाटै भन्नु पर्‍यो भन्दै भने, ‘अरूलाई भन्नुभन्दा हिजोका दिन हेर, अरूलाई भन्नुभन्दा हिजोका दिन हेर, आफै मन्त्री भएका मान्छे ७९/८० बजेट कोइ नफाल्या खेर’ यो बजेट सबै मिलेर सदुपयोग गरौँ ।’ मन्त्री रोकायले थपे, ‘हामीले फ्रिज जान नदियौं, २५ गतेबाट खाता बन्द भयो । ठाउँ–ठाउँबाट फोन आएका होलान् हामीले काम गरेका पैसा पाएका छैनौँ ।’

मन्त्री रोकायाले आक्रोश पोख्दै भने,‘ माननीयज्यूहरू हाम्रो मन्त्रालयको विनियोजित बजेटबारेमा तपाईंहरू सन्तुष्ट हुनुहुँदैन । वास्तवमा भन्ने हो भने मेरो मन्त्रालयको बजेटमा म पनि सन्तुष्ट छैन । किनभने बजेट घटेर आयो, दायित्व बढ्दै गयो ।’ साथै उनले आफूले आफ्नो मन्त्रालयको बजेट बाँडफाँट गर्न नपाएको गुनासो गरे । उनले भने, ‘हाम्रो मन्त्रालयमा १० अर्ब ९२ करोड छ । त्यसमा मैले जम्मै ६८ करोड बाँड्न पाएको छु । अन्य मन्त्रालयमा डेढ अर्ब भन्दा बढी बाँडफाँड गरेका छन् । हाम्रो मन्त्रालयमा नयाँ १६१ वटा योजना छन् ।’

उनले सुरुमा सरकारले अधुरा आयोजना पुरा गर्ने भनेर भने पनि अन्तिममा नयाँ योजनाहरू बढी आएको बताए । ‘बहु वर्षीय ४१ जना छन्,’ उनले भने, ‘पहिला बजेट बढी हुन्थ्यो । क्रमागत थिएन । जनता सडक ८ करोड निर्वाचन क्षेत्र कोष ५ करोड बाँकी एक करोडका दरमा सबै माननीयले योजना पाउनुहुन्थ्यो । अनि सन्तुष्ट हुनुहुन्थ्यो । अहिले जम्मा दुई वटा योजना पाउनुभयो कसरी सन्तुष्ट हुनुहुन्थ्यो ?’

सचिवालयले योजना हालेको विषयमा उनले आफ्नो सचिवालयले एउटै योजना हाल्न नपाएको गुनासो पोखे । साथै उनले कमिसनको चलखेलमा लागेको भन्ने आरोपप्रति खेद प्रकट गरे ।

साथै मन्त्री रोकायले आफूले कुनै पनि कमिसन नखाएको र भौतिक मन्त्रालयबाट आफ्ना स्वकीय र छोराछोरीलाई पनि कुनै पनि कमिसन नआउने स्पष्ट पारे । उनले भने, ‘भौतिक मन्त्रालयमा कुनै पनि कमिसन आउँदैन, हाम्रो मन्त्रालयका योजना त टेन्डर हुन्छन् ठेक्कामा जान्छन् । यस्ता कुरामा माननीय ज्युहरू जानकार हुनुहुन्छ । मैले जम्मा जिल्लामा भएका सम्पूर्ण कार्यक्रममा भन्ने गरेको छु, मैले कुनै एक रुपैयाँ भ्रष्ट्राचार गरे भने मलाई त्यतिबेला प्रश्न गर्नुहोला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *