प्रदेशमा सलबलाएको सुपारी तस्करको जालो, प्रहरी प्रमुख फेरिएसँगै बरामद हुँदै सुपारी

विराटनगर । प्रदेश १ का प्रदेश प्रहरी प्रमुखको आगमनसँगै सुपारी बरामद सुरु भएको छ। झापाको मेचीनगर नगरपालिका–५ स्थित तिरिङ–काँकडभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी बरामद गरेको जनाएको छ। प्रहरीले सुपारी सहित सवारी साधन पनि नियन्त्रणमा लिएको जनाएको छ ।

शनिवार इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकडभिट्टा तर्फ आउँदै गरेको मे१च ४९८० नम्बरको पिकअप गाडी चेक जाँच गर्दा करिब ७ सय किलो अवैध सुपारी बरामद गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सुपारी करिब २ लाख ८८ हजार ४ सय रुपैयाँ मूल्य बराबरको बरामद गरेको दाबी गरिएको छ। बरामद गरिएको सुपारी, सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको जनाएको छ।

तिन दिन पहिला मात्र सरुवा भएर आएका डिआइजी सुदीप गिरीको आगमनसँगै प्रदेश १ मा सुपारी बरामद सुरु भएको हो । लामो समयसम्म सुपारी बरामद भएको घटना बाहिर आएको थिएन । सुपारी चोरी तस्करी तथा पैठारीमा सुरक्षा अधिकारीको सरुवा बढुवासँग जोडिने गरेको छ।

यही असार २३ गते प्रदेश प्रहरी कार्यालयमा हाजिर भएका प्रहरी नायव महानिरीक्षक गिरी प्रहरीको विशेष ब्युरो, सिआईबी, अपराध महाशाखामा रहेर कार्यरत थिए । प्रहरी अधिकारीको सरुवाको मौका छोपेर तस्करीमा संलग्न व्यक्ति सलबलाउने घटना पहिलादेखि कै हो ।

प्रहरी अधिकृतहरूको आगमनसँगै लाइन खोल्ने कि नखोल्ने भन्नेसँग पनि यस्ता घटनाहरू जोडिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *