श्रीलंका संकटः राष्ट्रपति गोटाबयले राजीनामा दिने, प्रधानमन्त्रीको घर जलाइयो

काठमाडौँ । अभूतपूर्व आर्थिकसंकट बीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गएराति राष्ट्रपति राजपक्षले राजीनामा दिने बताएका हुन् ।
उनी जुलाई १३ मा राजीनामा दिन सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसद्ले नयाँ नेता चयन गर्नेछ । यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजपक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए ।
प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी गरेका छन् । ‘प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रवेश गरी आगजनी गरेका छन्’ श्रीलंकाका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भन्यो ।
प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिए पनि उनीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारीले प्रधानमन्त्रीको गाडीमा तोडफोड गरेका थिए । मे महिनामा प्रधानमन्त्रीमा नियुक्त भएका विक्रमासिंघेले पनि सरकारको निरन्तरता र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।








