पूर्व मेयर जिसीले लगाएका ठेक्काको छानबिन गर्न समिति गठन

पोखरा । पोखरा महानगरका पूर्व मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष मानबहादुर जिसीले कार्यकालको आखिरमा लगाएको ठेक्काको अध्ययन गर्न समिति गठन भएको छ । समितिको शनिबार बसेको बैठकले कास्कीका नापी अधिकृत दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो ।
समितिमा पोखरा ५ नम्बर वडाका अध्यक्ष विष्णु बराल, कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, एकीकृत समाजवादीका नेता झपीन्द्रराज रेग्मी र कानून व्यवसायी शुकदेव गौतम सदस्य छन् । उनीहरूले एक साताभित्र प्रतिवेदन दिनुपर्नेछ ।
यस्तै, ठेक्का पाएका कम्पनीहरूलाई तत्काल काम अघि नबढाउन पत्राचार गर्ने निर्णय गरेको छ । जिसीले गत जेठ ३ गते पोखराका महत्त्वपूर्ण ६३ रोपनी जग्गा सुटुक्क निजी क्षेत्रलाई ठेक्कामा दिएका थिए । त्योमध्ये ५८ रोपनी आफ्नै छोरीज्वाईंको कम्पनीलाई सुम्पेका हुन् ।
पोखरा १७ को गल्फ कोर्सको ४० रोपनी, पोखरा पर्यटन बसपार्कको १८ रोपनी र यातायात व्यवस्था कार्यालय आडको ५ रोपनी जग्गा एकल निर्णयबाट १० देखि २५ वर्षसम्मका लागि ठेक्कामा दिएका हुन् ।









