राप्रपाका भातृ संगठन आन्दोलित, १२ सम्मको अध्ययन निःशुल्कदेखि महिला हिंसा अन्त्यसम्मको माग

काठमाडौँ । राप्रपाको विद्यार्थी संगठन (राप्रविसं) शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । राप्रविसंले आउँदो २७ गते कक्षा १२ सम्मको अध्ययन निःशुल्क हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउने भएको हो । सबै विद्यालयमा पाठ्यपुस्तक पुग्नुपर्ने माग पनि अघि सारेको छ ।

यस्तै महिला संगठनले सबैखाले महिला हिंसाविरुद्ध सरकारको ध्यानाकर्षण गराउँदै असार ३१ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । असार १३ देखि राप्रपा चरणबद्ध आन्दोलनमा रहेको छ । राप्रपाको केन्द्र, जिल्ला, प्रदेश र विभिन्न भातृ संगठनहरु असार १३ गते, असार १७ गते, असार १९ गते, असार २२ गते र असार २४ गते सडकमा ओर्लिसकेको छ ।

यसक्रममा विद्यार्थी र महिला संगठन पनि आफ्नो सरोकारका विषयलाई लिएर आन्दोलित हुने भएका छन् । गत असार १ गते विभिन्न २२ सूत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब सिर्जना गर्न निरन्तर आन्दोलनमा होमिएको हो ।

राप्रपाले किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महँगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, महारोगको रूपमा फैलिएको भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ०४७ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने लगायत जनजीविकासँग सम्बन्धित विविध माग राखेको छ ।

यसको अलावा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, सङ्घीयताको खारेजी, राष्ट्रप्रमुखको रूपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई निष्पक्ष बनाउन निष्पक्ष चुनावी सरकारको गठन लगायतका विभिन्न २२ बुँदे माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्रमा बुझाएको थियो ।

राप्रपाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =