लगानीकर्ता संघकी अध्यक्ष पोखरेलकाे प्रश्न– ‘गभर्नर ज्यू, लगानीकर्ताको पीडामा कैलेसम्म रमिते बन्ने ?’

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले गभर्नर महाप्रसाद अधिकारीलाई लगानीकर्ताको पीडा र समस्या सम्बोधन गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार साँझ पत्र लेख्दै उनले बैंकको ऋण र ब्याज तिर्न नसक्ने अवस्थामा लगानीकर्ता पुगेको र बैंक वित्तीय संस्थाको त्रासका कारण सस्तैमा सेयर बेच्न लगानीकर्ता बाध्य बनिरहेको भन्दै उनले उक्त अवस्थाको सम्बोधन गर्न आग्रह गरेकी छन् ।

यस्तो छ अध्यक्ष पोखरेलले फेसबुकमार्फत लेखेको पत्र–

गभर्नर ज्यू, नमस्कार !

यहाँ जुन कार्यक्रममा अतिथी भएर जानु हुन्छ त्यो कार्यक्रममा यहाँले भन्ने कमन बोली भनेको हामी छिट्टै श्रीलंका जस्तो हुँदैछौँ । हाम्रो विदेशी मुद्राको सञ्चिति घटिरहेको छ । यी दुई वटा कुरा आउछँन् आउँछन् । रेमिट्यान्स आउन कम भएको छ भन्नु हुन्छ । पछिल्लो तीन महिनाको तथ्याङ्कले रेमिट्यान्स घटेको देखिँदैन । बरु स्थिर छ । किन आम नागरिकलाई अझ भनौँ सेयर लगानीकर्तालाई मर्माहित बनाउँदै हुनुहुन्छ ?

गभर्नर ज्यू,
हामीले २०७२ सालको भूकम्प, भूकम्पछि लगत्यैको नाकाबन्दी, त्यसपछिकाे दुई दुई वर्षे कोरोना महामारीबाट त लगानीकर्ता बिचलित भएनौँ वैंक तथा वित्तीय संस्थाको रकममा बेइमानी गरेनन् भने यो रसिया र यूक्रेनबाट सृजित विषम परिस्थितीलाई यहाँले नजर अन्दाज नगरी दिनुस् । अनधिकृत ढंगले मार्जिन कलको त्रास फैलाउँदै बैंक तथा वित्तीय संस्थाले लगानीकर्ताको सेयर जे मूल्यमा मन लाग्यो त्यही मूल्यमा बेचिरहेका छन् । र त बजार यो तहसम्म आइपुगेको छ । यहाँले मसक्क कम्मर कसी बैंक तथा वित्तीय संस्थाको यो पछिल्लो रबैयालाई रोकी दिनुस् । यहाँको कद उचो हुनेछ ।

नेपालको पूँजी बजारलाई चौतर्फि घेरा बन्दी गरिँदै छ । प्रत्येक हप्ताजसो कुनै न लगानीकर्ताले आत्महत्या गरिरहेका छन् । करिब एक हप्ता अघि बुटबलका एक प्रतिष्ठित लगानीकर्ता नारायणमा हेलिन पुगे भने हिजो मात्रै पनि एक जना लगानीकर्ता जसले देशब्यापी सेयर शिक्षा फैल्याउन मद्दत गरिरहेका थिए । उनले पनि बिष सेवन गरेका छन् । उनको यतिखेर भेन्टिलेटरमा राखी उपचार हुँदैछ । यस्तै अवस्था रहिरहे दैनिक रुपमा यस्ता अप्रिय खबर बाहिर आउने नै छ ।

विशेष गरी हामीले पनि भन्दै आएको के थियौं भने ब्रोकर लाईसेन्सलाई प्रतिस्पर्धी बनाउन जरुरी छ भनेर । केही दिनअघि मात्रै धितोपत्र बोर्डले तीन तहको ब्रोकर लाइसेन्सको विषयमा बोल्ड निर्णय गर्यो । त्यो निर्णय आउना साथ अर्थ समितिका सभापति कृष्णप्रसाद दहाललाई खपिनसक्नुको टाउको दुख्यो ! र, भन्न थाले यो अर्थ समितिमा छलफल गर्ने विषय हो भनेर । के स्वायत्त निकाय धितोपत्र बोर्डले गरेको निर्णयमा कैँची चलाई हाल्नु पर्ने ? हुन त यो सतीले सरापेको देशमा योसो भन्नु नौलो बिषय चाँही होइन ।

पछिल्लो समय नेपालको पूँजी बजार बामेसर्ने यूगबाट टुकुटुक हिड्नेसम्मको यूगमा प्रबेश गर्दै गरेको कुरा आम लगानीकर्ता माझ घाम जत्तिकै छर्लङ्ग छ । यसको वाबजुद नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाई दिएको देख्दा आम लगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्ने गरेको छ । उपल्लो पदमा जान मरिहत्ते गरेर पुग्ने त्यसपछि आफूभन्दा माथिल्लो तालुकदारको कुरै नसुन्ने परिपाटी हालै हाम्रो देशमा विद्यमान छ । अझ भनौँ ‘डोकाले छोपेको बिरालो’ जस्तो छर्लङै भएको छ ।

आज लगानीकर्ता यति प्रताड़ित भएका छन् की त्यसको कुनै पनि लेखाजोखा हुनै सक्दैन । गभर्नर ज्यू यो आर्थिक वर्ष सकिन अब एक हप्ता मात्रै बाँकी छ । बैंक तथा वित्तीय संस्थाको रबैयाले सेयर धितो राखेर लिएको मार्जिन कर्जाको बिषयमा ‘थाल खाउँ की भात खाँउ’ गराई राखेका छन् । यस्तो विषम परिस्थितिमा लगानीकर्ताले असार मसान्तको ब्याज त कसरी तिरौँ भनिरहेका बेला मार्जिन कलको त्रासबाट लगानाकर्तालाई झिकिदिनुस् गभर्नर ज्यू नत्र अवस्था झनै भयावह भएर जाने छ ।

बैंक तथा वित्तीय संस्थाले मार्जिनको बहानमा आम लगानीकर्ताको सेयर बेचिदिँदैछन् । यस्तो सम्बेदनशील विषयमा यहाँले लगानीकर्तालाई रेस्क्यू गर्नु पर्दैन र ? हजुर भनेको हामी सबैको भिष्म पितामह होईन ? गभर्नर ज्यू बैंक तथा वित्तीय संस्थाको धम्कीपूर्ण अभिव्यक्तिबाट लगानीकर्तालाई बचाई दिनुस् । समय दिनुस् लगानीकर्ताले ऋण तिर्ने छन् । मनलाग्दी सेयर बेच्ने छुट बैंक तथा वित्तीय संस्थालाई नदिनुस् ।

यही अवस्थामा बैंक तथा वित्तीय संस्थालाई छोडिदिनु भयो भने ‘बाँदर आफूले पनि घर बनाउँदैन र अरुको घर पनि देखी सहँदैन’ भनेझैँ हुने छ । त्यती मात्रै होइन परिस्थिती यहाँले समालि नसक्नु हुने छ । गभर्नर ज्यूलेको काम बोल्दै हिड्ने मात्र होइन यस बिषम परिस्थितिमा ५२ लाख लगानीकर्तालाई मार्जिनकल बाँट बचाउने हो ।

अन्तमा गभर्नर ज्यू मेरो आग्रह छ, बिलम्ब नगरी बैंक तथा वित्तीय संस्थाको धम्की पूर्ण मार्जिनकललाई आजैबाट रोकी दिनुस् । र, अषाढ मसान्त भित्रै अर्को ब्यवस्था नहुनजेल ४/१२ मा लगाइएको कर्जालाई नविकरण गरियोस् र यस्का साथै भारित औसत १०० मै कायम गरियोस् ।

राधा पोखरेल

अध्यक्ष
नेपाल पूँजी बजार लगानीकर्ता संघ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *