‘प्रधानमन्त्रीज्यू, तपाईंले पढेको कलेज कहिले बन्ने ?’

काठमाडौँ । विनाशकारी भूकम्पबाट पूर्ण रूपमा क्षति भएको भवन पुनर्निर्माण हुनुपर्ने भन्दै काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुनर्निर्माणमा चासो नदेखाएको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले शिक्षा मन्त्रालय हराएको सूचना, ढुङ्गा बोल्यो, माटो बोल्यो, सरकार बोलेन, प्रधानमन्त्रीज्यू तपाईंले पढेको क्याम्पस कहिले बन्छ ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपालको इतिहासकै रूपमा रहेको त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थीहरूको भनाई छ ।
एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरू क्याम्पस बचाउ अभियानमा लागेका हुन् । २०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ ।








