बाजुराको बुढीगंगामा मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो

धनगढी । स्थानीय तह निर्वाचन अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः भएको मतदान सम्पन्न भएको छ । कडा सुरक्षाकाबीच भएको मतदान साँझ ५ बजे सकिएको हो । १३ हजार ६ सय ५९ मतदाता रहेको बुढीगंगामा कुल ६६.८३ प्रतिशत मत खसेको मूख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

वैशाख ३० गते भएको चुनाव भन्दा झण्डै ९ प्रतिशत कम खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए । उनका अनुसार त्यसबेला ७५.५८ प्रतिशत मत खसेको थियो । बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झडप हुन नदिने हवार्इ फायर गरेको थियो । यहाँ आधा घण्टा मतदान रोकिएको थियो । अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।

१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । नगर प्रमुखमा नेपाली काँग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् । कांग्रेसका उम्मेदवार खाती गठबन्धनका साझा उम्मेदवार हुन् ।

वैशाख ३० भएको मतदानका क्रममा विवाद भएपछि बुढीगंगामा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । मतगणना गर्ने विषयमा भने निर्णय गर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *