सर्वोत्तम सिमेन्टलाई प्राधिकरणले थप ९ मेगावाट बिजुली दिने सम्झौता

उद्योगले पायो कुल १७ मेगावाट बिजुली

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेड प्रालिले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरणबाट थप ९ मेगावाट विद्युत् प्राप्त गर्ने भएको छ । यस सम्बन्धमा १७ असारमा नेपाल विद्युत् प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत् खरिदबिक्री सम्झौता भएको हो ।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नवराज पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सर्वोत्तम सिमेन्ट लिमिटेडलाई हाल ८ मेगावाट विद्युत् प्रदान गरिरहेकोमा थप ९ मेगावाट विद्युत् प्रदान गर्ने सहमति भएको छ । यससँगै सर्वोत्तम सिमेन्ट लिमिटेडले अब १७ मेगावाट विद्युत् प्राप्त गर्ने भएको छ । यसका लागि थप विद्युत् प्राप्त गर्न आवश्यक हुने विद्युतीय सामाग्री तथा ट्रान्सफरमर जडान कार्य अघि बढाइएको छ ।

कम्पनीले आन्तरिक स्रोतबाट उत्पादित जलविद्युत्को आन्तरिक खपत बढाउने सरकारको योजनामा सघाउन यसअघि सिमेन्ट उत्पादनका लागि अन्य स्रोतबाट प्राप्त गरिरहेको ऊर्जा खपतलाई समेत घटाउन मद्दत पुग्ने विश्वास लिइएको जनाएको छ ।

विशेषगरी यसअघि सिमेन्ट उत्पादनका लागि आवश्यक ऊर्जा थर्मल, फर्नेस आयल तथा डिजेल प्लान्टको सञ्चालनबाट प्राप्त गर्दै आएको र ठूलो परिमाणमा डिजेलको खपत हुने गरेकोमा विद्युतीय उर्जा प्राप्त गरेपछि यसले डिजेल लगायतका बाह्य स्रोतबाट प्राप्त यस्ता उर्जाको स्रोत खपत कम गर्न सघाउने विश्वास कम्पनीले लिएको छ । यसले उल्लेख्य मात्रामा खर्च घटाउने समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले बताए ।

कम्पनीले सर्वोत्तम ब्राण्डमा हाल दैनिक ३ हजार मेट्रिक टन क्लिंकर र ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको तथा निकट भविष्यमै २/२ हजार मेट्रिक टन क्षमता थप गर्ने तयारी गरिरहेको छ जनाएको छ । नेपालमै सबैभन्दा पहिला बुक बिल्डिङ् विधिबाट मूल्य निर्धारण गरेर सार्वजानिक शेयर निष्काशन गर्ने कार्यमा समेत कम्पनी लागिपरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *