चौधरी ग्रुपलाई फाइदा पुग्ने गरी करको दर कायम गरिएको आराेप पुष्टि गर्न निर्वाण चौधरीको चुनाैती

काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चौधरी ग्रुपलाई फाइदा पुग्ने गरी बजेट ल्याउने अघिल्लो रात करको दर हेरफेर गरिएको भन्ने टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकका बुधबार स्टाटस लेख्दै उनले यस्तो आपत्ति जनाएका छन् ।

‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ फेसबुकमा उनले लेखेका छन्, ‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ ।’

उनले उक्त आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

‘उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ,’ उनले लेखेका छन्, ‘र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्न तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ ।’

चौधरी ग्रुपलाई फाइदा पुग्ने गरी करको दर कायम गर्न बजेट ल्याउने अघिल्लो दिन अर्थमन्त्रालयसँग असम्बन्धित व्यक्तिलाई अर्थमन्त्रालयमा छिराएर अर्थमन्त्री जनार्दन शर्माले करको दर कायम गरेको भन्दै अहिले अर्थमन्त्रीको तीव्र आलोचना भइरहेको छ ।

खास गरी प्रतिपक्षी दल तथा उक्त करका दरले मारमा परेका उद्योगी व्यवसायीले नै यसबारे चर्को विरोध गरिरहेका छन् ।

उक्त दिन अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएकोबारे प्रस्ट हुन मन्त्रालयको सीसीटीभी फूटेज माग गभएको थियो । तर, उक्त फूटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि विषय अझ पेचिलो बनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *