बाजुराको बुढीगंगामा बिहीबार पुनः मतदान हुने, सुरक्षा व्यवस्था कडा

धनगढी। बाजुराको बुढीगंगा नगरपालिकामा आगामी (बिहीबार) हुने पुनः मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । १० वटा मतदानस्थल रहेको यस पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।

मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ । मंगलबारदेखि संयुक्त रूपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गरिएको छ । जनतालाई सुरक्षित रूपले मतदान गर्ने वातावरण बनाउन पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बाजुरा प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

उनले यस पटक निर्वाचन स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गरिने दाबी गरे । उनका अनुसार हरेक बुथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको कमान्डमा सुरक्षाकर्मी खटाइएको छ । त्यसको बाहिरी घेरामा नेपाली सेना रहने छ ।

९५ कर्मचारी खटिए

बुढीगंगामा मतदान गराउनका लागि ९५ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता संख्या १२ हजार ६ सय ५९ मतदाता रहेको छ । वैशाख ३० गतेको मतदानका क्रममा धाँधली भएपछि निर्वाचन आयोगले बुढीगंगाको निर्वाचन स्थगित गरी पुनः निर्वाचन गराउने निर्णय गरेको थियो ।

मतदानस्थल रहेको विद्यालयमा एक साता अघिदेखि नै बिदा दिइएको छ । साथै मंगलबारदेखि नगरपालिकाका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *