मुख्यमन्त्री शाही र स्विटजरल्याण्डका राजदूतबीच भेटवार्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार भएको भेटमा संघीयता कार्यान्वयन, सशस्त्र द्वन्द्वका पीडितहरूलाई परिरहेको मानसिक स्वास्थ्य सम्बन्धी असर, कर्णालीको सडक गुरुयोजना लगायतका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा स्विटजरल्याण्ड सरकारको सहयोगमा कर्णालीमा सञ्चालित मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा छलफल भएको थियो । स्विटजरल्याण्ड सरकारको सहयोगमा सिएमसी नेपालले कर्णालीका तीन जिल्लाका ६ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ ।

भेटका क्रममा राजदूत क्यापलरले द्वन्द्वपीडितहरूका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरूको बारेमा चासो राखेका थिए । उनले द्वन्द्वपीडितहरूको मानसिक स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणका लागि प्रदेश सरकार अझै गम्भीर हुनुपर्ने सुझाव दिए ।

भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण कामहरू गरेको बताए । ‘द्वन्द्वपीडितको सवालमा कर्णाली प्रदेश सरकार गम्भीर छ,’ मुख्यमन्त्री शाहीले भने, ‘राहत, जीवन निर्वाह भत्ता, औषधोपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा हामीले काम गरिरहेका छौँ ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सडक गुरुयोजना निर्माण अन्तिम चरणमा रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *