आफैँले कार्यक्रम प्रायोजन गरेर आफैँलाई १२ वटा उपाधि !

पोखरा । पोखरामा एकजना व्यक्तिले एकैपटक १२ वटा उपाधि तथा सम्मान प्राप्त गरेका छन् ।

देशभक्त सिंह कुँवर नाम गरेका ती व्यक्तिले फरकफरक विधाका १२ वटा उपाधि हासिल गरेका हुन् ।

उनले शब्द सम्राट् उपाधि, वाङ्मय सम्राट् उपाधि, साहित्य सम्राट् उपाधि, सिर्जना सम्राट् उपाधि,
रचना सम्राट् उपाधि तथा लेखक सम्राट् उपाधि पाएका छन् ।

त्यस्तै, दिव्य गायक उपाधि, बहु आयामिक व्यक्तित्व उपाधि, सङ्गीत मणिरत्न उपाधि, युग सञ्चारमणि उपाधि, महासाहित्यकार उपाधि र दुर्लभ महामानव उपाधि सम्मान तथा उपाधिसमेत प्राप्त गरेका हुन् ।

कुँवरले उपाधिसँगै प्रमाणपत्र, चिनो तथा नगद ६ लाख समेत प्राप्त गरेका छन् ।

उनलाई इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), काठमाडौँ र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रूपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज पोखरा, सनलाइट मिडिया ट्रेनिङ सेन्टर, कारवि फाइनान्सियल एजेन्सी काठमाडौँ, काविन ग्राफिक्स डिजाइनिङ एन्ड सोलुसन र माछापुच्छ्रे नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवार लगायतले सम्मान गरेका हुन् ।

यद्यपि उनले पाएका यी सम्मान उनी स्वयंले प्रायोजन गरेको बताइएको छ । उनले आफ्ना विभिन्न संस्थाहरू मार्फत साहित्यिक तथा शैक्षिक संस्थाहरूसँग सहकार्य गरी सम्मान थापेको स्रोतले जनाएको छ ।

यसअघि पनि उनले अलौकिक कविको उपाधि लिइसकेका छन् । उनी पत्रकार, समाजसेवी, साहित्यकार समेत हुन् ।

सम्मानपछि उनका बारे सामाजिक सञ्जाल विभिन्न टीकाटिप्पणी सुरु भएका छन् । पोखराकी साहित्यकार तथा लेखक सरस्वती प्रतीक्षाले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘ पोखरामा एक कार्यक्रमका माझ एक जना महानुभावलाई यी सबै खाले उपाधि दिइएछ । ब्यानरमै ‘साहित्यिक राष्ट्रनायक’ रे अझै । उपाधिहरूकै हुर्मत काट्ने गरेर यसरी प्रायोजित रूपमा आफैँलाई/अरूलाई सम्मान गरेर वाङमयको सम्मान हुन्छ कि अपमान ? साधना र सृजना कठिन बाटोको अर्को नाम हो । त्यसलाई यो हदको सस्तो मजाक बनाइनु हुँदैन कदाचित ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *