विकल्पकाे माओवादी रूपान्तरणकाे प्रस्ताव- प्रतिस्पर्धाको राजनीतिमा आएपछि स्खलित भयाैँ (पूर्णपाठ)

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] का केन्द्रीय सदस्य प्रकाश विकल्पले प्रतिस्पर्धाको राजनीतिमा आएपछि माओवादी नराम्राेसँग स्खलित भएकाे बताएका छन् । आइतबारबाट काठमाडाैँमा चलिरहेकाे केन्द्रीय सदस्यहरूकाे बैठकमा माओवादी रूपान्तरणकाे प्रस्ताव ल्याउँदै उनले भनेका छन्, ‘मानवजातिको अग्रगतिका लागि महान् जनयुद्धको अन्वेषण र प्रयोगबाट ऐतिहासिक योगदान गरेको नेकपा (माओवादी केन्द्र) प्रतिस्पर्धाको राजनीतिमा आएपछि क्रमिकरूपमा स्खलित हुँदै गएको देखिन्छ, जुन विल्कुलै बिडम्वनाको विषय हो ।’
उनले यसकाे कारण खाेज्ने काम माओवादीले तत्काल गर्नुपर्ने पनि बताएका छन् । ‘यस्तो किन भयो त ? किनकी, प्रतिस्पर्धाको राजनीतिले माओवादीलाई निर्वाचन केन्द्रित पार्टीमा सीमित गरिदियो । जसरी अरु पार्टीका लागि निर्वाचन जित्नु छ भन्ने नै अन्तिम लक्ष्य हुन्छ, माओवादी पनि करिबकरिब त्यही बाटोमा हिँड्न पुगेको त हैन, आशङ्का पैदा भएकाे छ,’ उनले भनेका छन् ।
रूपान्तरणकारी पार्टीबाट हामी ‘सरकारी माओवादी’ मा सीमित भएजस्तो भएकाे उनले बताएका छन् । ‘सत्तामा पुगेसँगै पार्टी करिबकरिब सिर्जनशिलताविहीन हुन पुग्यो । गुट्बन्दी मौलायो । तछाड्मछाडको परिस्थिति उत्पन हुन थाल्यो । मेरो अध्ययनले भन्छ— गुटबन्दीको कारण चरम् पूँजीवादी चरित्र, विधिविहीनता, जिम्मेवारी र लाभको न्यायोचित वितरण नहुनु आदिबाट पैदा हुन्छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, एकात्मक जातीय पितृसत्तात्मक तथा धार्मिक राज्यबाट आम नागरिकको राज्य निर्माणलगायत सामाजिक-राजनीतिक जागरणको क्षेत्रमा ठूलो योगदान गरेको उनको जिकिर छ ।








