नाम फेरेर उही कार्यक्रम ल्याइने, आधा महिनादेखि अवरुद्ध संसद सोमबारदेखि चल्ने

पोखरा । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम सांसदले बाँड्ने पैसा हो । हरेक वर्ष गण्डकीले ३६ निर्वाचन क्षेत्रका लागि २ करोडका दरले ७२ करोड विनियोजन गर्दै आएको थियो । नयाँ अर्थमन्त्रीका रूपमा माओवादी सांसद रामजी बराल आएपछि उनले आगामी वर्ष उक्त कार्यक्रम नराख्ने गरी काटिदिए । उनले काटेको ७२ करोडको कार्यक्रमले गण्डकीलाई गन्जागोल बनायो ।

कुनै हालतमा निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम नराख्ने अडान लिएका अर्थमन्त्री रामजी बराल अन्ततः गले । उनको अडानले निरन्तरता पाएन, नाम फेरेर उक्त कार्यक्रम राख्न उनी सहमत भएका छन् । ‘सोही नाममा बजेट राख्न मान्नुभएको छैन । अरू कुनै कार्यक्रममार्फत् ७२ करोड रातो किताबमा आउँछ,’ एक मन्त्रीले भने, ‘उहाँको अडानको कुनै तुक थिएन ।’

असार १ गते बजेट सार्वजनिक भएपछि एउटै कार्यक्रमका कारण १८ दिन संसद बन्द रह्यो । मन्त्रीहरूले भने आफ्नो मन्त्रालयको सिलिङसमेत बिगारेको आरोप लगाएका छन् । दिनहुँजसो वार्ता र छलफल भएपनि अर्थमन्त्रीले अटेर गरेका थिए । ‘मन्त्रालयमा एउटा सिलिङ दिएर कार्यक्रम मन्त्रालयको छैन । अर्थमन्त्रीले बजेट बनाउने हो, कार्यक्रम नै आफूखुसी फेर्न पाइन्छ ?,’ अर्का मन्त्रीले भने, ‘यो सबै सुधार्नुपर्छ । हामीले पाएको सिलिङभित्र मन्त्रालयको कार्यक्रम अट्दैन भने मन्त्रीमा बसिरहनै पर्दैन । सबै बजेट अर्थमन्त्रीले बाँडे हुन्छ ।’

अर्थमन्त्रीले सिलिङ चलाएको विषयमा पनि रेकी शुरू भएको छ । सबै मन्त्रालयले आफ्ना कार्यक्रम मागेर क्रसचेक शुरू गरेका हुन् । छुटेका कार्यक्रमहरूलाई छुट्टै किताब बनाएर समेट्न अर्थमन्त्रीले सहमति जनाएका छन् । ‘रातो किताब सँगसँगै सेतो किताब पनि अनुसूची बनेर आउने सहमति भएको छ । अनुसूचीमा कार्यक्रमहरू थपिन्छन्,’ मुख्यमन्त्री कार्यालयले भन्यो, ‘सोमबारदेखि छलफल शुरू हुन्छ । छुटेका कार्यक्रम बिस्तारै समेटिन्छन् ।’

अर्थमन्त्री र मुख्यमन्त्रीबीच सहमति भएपछि मुख्यमन्त्रीकै आग्रहमा सभामुखले संसद सञ्चालनको निम्तो सांसदलाई पठाएका हुन् । भोलि सोमबार दिउँसो १ बजेदेखि निरन्तर चल्ने गरी संसद् बैठक बोलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *