प्रधानमन्त्रीसहित गठबन्धनका नेताले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गर्ने

काठमाडाैं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेता निजगढ जाने भएका छन् । आजै प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ निजगढ जान लागेको सरकारी उच्च स्रोतले जानकारी दिएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णय सर्वोच्च अदालतको बदर गरेपछि अहिले अन्यौलता पैदा भएको छ । प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँको वस्तुस्थिति बुझ्न जान लगेको बताइएको छ । काठमाडौंबाहेक अन्यत्र पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनाअनुरूप अहिले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी–इन्फ्रा–बीडीए जेभीलाई जिम्मेवारी दिइएको थियो । त्यहाँ पहिलो चरणको कार्यक्रमअन्तर्गत मुआब्जा वितरण, रूख गणना लगायत काम भएको थियो । ठूला, साना र मझौला गरी झन्डै २४ लाख रूख कटान र १४ सय घरधुरीको स्थानान्तरण गर्नुपर्ने देखिएको पर्यटन मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणले गरेको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनले वन जङ्गल फडानी, पानीको मुहान, जैविक पैदावार लगायतका प्राकृतिक स्रोतसाधनमा पर्ने प्रभाव र बस्ती स्थानान्तरण लगायतका विषय समेटिएको थियो । १२ जेठमा सर्वोच्च अदालतले प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले गरेका सबै निर्णय बदर गरिदिएको हो । सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक प्रधानमन्त्री सहित दलका शीर्ष नेता त्यहाँ पुग्न लागेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *