मुख्यमन्त्री राजेन्द्र पाण्डेको पद धरापमा, यस्ता छन् सरकार टिकाउने विकल्प !

चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको पद धरापमा परेको छ । मुख्यमन्त्री पाण्डेले पूर्व सहमतिअनुसार सरकार छोड्न अटेर गरेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उनका विरुद्ध हस्ताक्षर अभियान नै चलाएका छन् ।

यसअघि नै वाग्मती प्रदेश सरकारको बजेट पारित भएसँग मुख्यमन्त्री छोड्ने पूर्वसहमति कार्यान्वयन नगरेपछि हस्ताक्षर अभियान चलाइएको नेपाली कांग्रेसका एक नेता बताउँछन् । उनी भन्छन्, ‘एकीकृत समाजवादी, कांग्रेस र माओवादी केन्द्रबिच आलोपालोको सहमति भएको हो, बजेट भाषणपछि वाग्मतीमा कांग्रेसको सरकार बनाउने र मुख्यमन्त्री पाण्डेले छोड्न सहमति भएको हो, सहमति कार्यान्वयन नभएपछि हस्ताक्षर अभियान चलाइएको हो ।’ आलोपालो सरकार चलाउने गरी सहमति भएको पत्र नेपाली कांग्रेसले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

कांग्रेसका एक नेताको भनाइअनुसार पाण्डेले पूर्व सहमति कार्यान्वयनमा इच्छा नदेखाएपछि बाध्य भएर यसअघि सहमति पत्र सार्वजनिक गरिएको र अहिले हस्ताक्षर अभियान चलाइएको हो । वाग्मतीमा कांग्रेस नेतृत्वको सरकार स्थापना गर्ने पूर्व सहमति अनुसार नै प्रदेश प्रमुखलाई बुझाउनको लागि हस्ताक्षर संकलन सुरु भएको कांग्रेसको भनाइ छ ।

नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति तथा प्रदेशसभामा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पाण्डेकै सहमतिमा हस्ताक्षर अभियान चलाइएको दाबी गरेका छन् । उनी भन्छन्, ‘कांग्रेस नेतृत्वको सरकार बनाउन प्रक्रिया चालिएको हो, यसमा सत्तारुढ गठबन्धनका पार्टीहरू सबैको सहमति छ । हस्ताक्षर सरकार परिवर्तनको एउटा प्रक्रिया मात्र हो ।’ उनले छिटै वाग्मतीमा कांग्रेसको सरकार बन्ने दाबी पनि गरे ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता छोड्न केन्द्रको सहमति आवश्यक रहेको बताएका छन् । ‘वाग्मती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरूपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन्।’

राजेन्द्र पाण्डेले वाग्मतीको आफ्नो सरकार जोगाउन तीन विकल्प चाल्न सक्ने देखिएको छ । एउटा विकल्प केन्द्रमा पाँच दलीय गठबन्धनबाट निर्णय गराएर वाग्मतीको आफ्नो सरकार जोगाइराख्ने हुनसक्छ । अर्को नेकपा एमालेको समर्थनमा सरकार चलाउने पनि पाण्डेको सरकार टिकाउने विकल्प हुनसक्छ र अर्को एमाले र एकीकृत समाजवादी भएर मन्त्री बाँडफाँड गरी सरकार हाँक्ने विकल्प पनि हुन सक्छ  ।

एमालेसँग प्रदेशसभामा ४१ सांसद रहेका छन् । नेकपा एसका १३ जना छन् । प्रदेशसभामा बहुमतका लागि ५४ सांसद भए पुग्छ । एमाले र एस मिलेर सरकारमा सहभागी हुने अवस्था बन्यो भने पाण्डेको मुख्यमन्त्री पद जोगिन सक्छ । एकीकृत समाजवादीका एक नेताले अन्य विकल्पमा नजाने र पाँच दलीय गठबन्धनबाट निर्णय गराएर राजेन्द्र पाण्डे नै मुख्यमन्त्री हुने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *