संसदीय समितिको बैठकमा सभापति मात्रै उपस्थित

पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिमा सभापति बाहेक सांसद र मन्त्रीहरू नआएपछि बैठक स्थगित भएको छ ।

समितिका सभापति दीपक कोइरालाले बिहीबारका लागि डाकेको बैठकमा समितिका कुनै पनि सदस्य सहभागी नभएका हुन् । समितिमा ६ जना मन्त्री, ६ जना एमालेका सांसद र २ जना माओवादी सांसद छन् । तर बैठकमा कोही पनि आएनन् । १ बजेका लागि डाकिएको बैठकमा २ बजेसम्म सदस्यहरू नआएपछि स्थगित गरिएको सभापति कोइरालाले बताए ।

‘१ घण्टा कुरेँ । कोही पनि आउनुभएन,’ उनले भने, ‘केही गलत सन्देश गएको हुन सक्छ ।’ समितिले हालको संसद्को गतिरोधबारे छलफल गर्नका लागि बैठक बोलाएको थियो । असार १ गते बजेट प्रस्तुत गरेपछि संसद् स्थगित छ ।

समितिले संसद् नचल्नुका कारण खोज्ने र छिटो सदन सञ्चालनका लागि निर्देशन दिन अर्थमन्त्रीलाई समेत डाकेर बैठक बोलाएको हो । तर एमालेले भने सदनमा गर्नुपर्ने बजेट छलफल संसदीय समितिमा गर्न लागिएको भन्दै आफ्ना सांसदलाई बैठकमा अनुपस्थित हुन सूचना जारी गरेको पाइएको छ ।

मन्त्रीहरूलाई मताधिकार सहितको सदस्य बनाउँदा अर्थ तथा विकास समितिको यसअघि पनि पटक पटक बैठक गणपूरक संख्या नपुगेका कारण स्थगित भएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *