उपेन्द्र र बाबुरामको टकरावले उब्जाएको प्रश्न

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबिच यतिबेला पानी बाराबारको अवस्था सिर्जना भएको छ ।

एकले अर्काको अस्तित्व स्वीकार गर्ने ठाउँमा दुवै नेता छैनन् । दुवै एकै पार्टीमा बस्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । जसपाका यी दुई नेताको टकराब भित्रभित्रै भुसको आगो जसरी सल्केर बाहिर छताछुल्ल भइसकेको छ । जसपाका संघीय परिषद् अध्यक्ष भट्टराई निकट एक नेताका अनुसार अब कसरी दुई नेता पार्टीबाट अलग हुने भन्ने विषय मात्र बाँकी छ । पार्टी फुटिसकेको छ ।

पार्टी विवाद समाधानका लागि बुधवार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबिच छलफल पनि भएको थियो, तर छलफलमा पार्टीभित्रै बसेर सँगै जान सक्ने अवस्था सिर्जना हुनै सकेन, बरु कसरी छुट्टिने भन्ने विषयमा छलफल केन्द्रित भयो । स्रोतका अनुसार आज पनि उपेन्द्र र बाबुरामबिच छलफल हुने र कसरी छुट्टिने भन्ने विषयमा छलफल केन्द्रित हुने देखिएको छ ।

उपेन्द्र निकट एक नेताले भने, ‘नेता बाबुराम भट्टराई अब जसपा पार्टीमा रहनुहुँदैन, उहाँले आफ्नो बाटो खोज्नुहुन्छ । उहाँलाई सँगै लिएर पार्टी अघि बढ्न सक्दैन ।’ यता बाबुराम भट्टराई निकटका नेताहरू पनि बाबुराम भट्टराई खुम्चिएर कुनै अधिकार नलिई जसपामै बस्ने अवस्था नरहेको बताइरहेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर मधेस केन्द्रित दल फुटाउन खोजेपछि समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) एकता भएको हो । एकता गर्नुपर्ने अवस्था भएर एकीकरण भएको पार्टी भएर पनि उपेन्द्र र बाबुरामबिच सधैँ टकराब भइरहेको देखिन्छ । कुनै योजना नबनाई हतारमा पार्टी एकीकरण गरेको फल यतिबेला भोगिरहेको जसपाका एक नेता बताउँछन् । ती नेताले भने, ‘बाबुराम र उपेन्द्र यादवबिच भएको टकराबले तलका कार्यकर्ताहरूको मनोबल खस्केको छ, बाटो लाग्दा हुन्छ, पार्टीलाई जोगाउन हामी लाग्नेछौँ ।’

बाबुराम निकट एक नेताका अनुसार पार्टीमा उपेन्द्र र बाबुरामबिचको सम्बन्ध कहिल्यै राम्रो भएन, जहिल्यै पानी बाराबारको अवस्था देखियो । उनका अनुसार पाँच दलीय गठबन्धनको सरकारमा मन्त्री बनाउँदा उपेन्द्रले एकपक्षीय निर्णय गरे, स्थानीय तहको टिकट दिँदा सबै निर्णयमा उपेन्द्रले नै बलजफती गरे । मूलतः पार्टीका सबै क्षेत्रमा बाबुरामभन्दा उपेन्द्र नै हाबी भए, बाबुरामको कुनै निर्णय कार्यान्वयन पनि हुन सकेन, जसका कारण आज बाबुराम पार्टीबाट निस्कने अवस्था सिर्जना भएको ती नेता बताउँछन् ।

स्थानीय तहको चुनावमा उपेन्द्रले आफू अनुकूलका व्यक्तिलाई टिकट दिएपछि दुई नेताको सम्बन्धमा बढी दरार आएको उनले बताए । बाबुराम पक्षका ती नेताले भने, ‘मन्त्री पठाउँदा होस् वा स्थानीय तहको चुनावमा टिकट वितरणमा होस् वा अन्य पार्टीका जुनकुनै निर्णयमा बाबुरामको कुरा नसुनिएपछि पार्टीमा बस्नु कुनै औचित्य छैन ।’

बाबुराम र उपेन्द्रको टकराबका कारण कुन नेता कहाँ पुग्ने अहिले यसै भन्न सकिने अवस्था छैन । बाबुराम भट्टराईलाई नयाँ पार्टी खोल्न पनि त्यति सहज छैन । बाबुराम पार्टीमा अहिले अल्पमतमै छन् । अशोक राईसहित मोहम्मद इस्तियाक राई पक्षले समेत बाबुरामको साथ छोडेर उपेन्द्र यादव पक्षमा खुलेका छन् । दल विभाजन सम्बन्धी अध्यादेश सरकारले ल्याए भनेमात्र बाबुरामले अर्को पार्टी खोल्न सक्नेछन्, नत्र बाबुराम अर्को पार्टीमा प्रवेश गर्नसक्ने नेताहरू बताउँछन् । उनीनिकट एक नेताका अनुसार बाबुरामले नयाँ अर्को पार्टी दर्ता गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *