सरकारी कागजात कीर्ते गरेको आरोप लागेकी प्रदेश सांसदले दिइन् राजीनामा

विराटनगर । प्रदेश सभा सदस्य गुलेफुन खातुनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएकी छन् । सरकारी सहीछाप कीर्तेको आरोप लागेपछि उनलाई प्रहरीले खोज्दै आएको थियो ।

नेकपा एमालेको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी खातुनले मिति २०७९ असार १५ गते देखि लागु हुनेगरि पदबाट राजीनामा दिएकी हुन् ।

प्रदेश १ सभाको दशौँ तथा बजेट अधिवेशनको सोह्रौँ बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले राजीनामा बारेमा सभालाई जानकारी गराउँदै खातुनले पेस गरेको राजीनामा असार १५ गते नै स्वीकृत भएको बताए । प्रदेश सभा सदस्य खातुनले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याको कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई ल्याउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

सभामुख भण्डारीका अनुसार प्रदेश सभा सदस्य खातुनले पेस गरेको राजीनामा नेपालको संविधानको धारा १८० को खण्ड (क) तथा प्रदेश सभा नियमावली २०७४को नियम १६९ तथा ७० बमोजिम समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य रिक्त रहेको छ । गुलेफुन खातुनको राजीनामा सँगै प्रदेश १ सभामा ४ जना प्रदेश सभा सदस्यको पद रिक्त भएको छ ।

नेकपा माओवादी केन्द्रले टंक आङ्बुहाङलाई कारबाही गरेसँगै उनको पद रिक्त रहेको छ भने झापाका गोपाल प्रसाद बुढाथोकी र इलाममा काजीमान कागतेले मेयरमा उम्मेदवार बन्दै प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए ।

यस्तो छ उनको मुद्दा

उच्च अदालत विराटनगरको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेकी खातुनको सरकारी सहीछाप कीर्ते मुद्दामा पुनः सुनुवाइका लागि सर्वोच्चले निस्सा नदिने आदेश गरेपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएकी हुन् ।

उच्चको फैसलाविरुद्ध उनले सर्वोच्चमा इन्साफ दोहोर्‍याई पाउँ (दोप) निवेदन दिएकी थिइन् । निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले जेठ २५ गते निस्सा नदिने आदेश गरेको हो । सर्वोच्चले मुद्दा सुनुवाइका लागि निस्सा नदिएपछि उनले कैद सजाय काट्नुपर्ने अवस्था आएको छ ।

मोहीको जग्गाका लागि कागजात जुटाउने क्रममा उनीमाथि तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप कीर्ते गरेको आरोप लागेको छ । सरकारी सहीछाप कीर्ते मुद्दामा जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ मा एक वर्ष कैद सजाय सुनाएको थियो ।

जिल्लाको फैसलाविरुद्ध उनी २०७४ भदौमा उच्च अदालत गएकी थिइन् । उच्च अदालतले २०७६ पुस ९ मा उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र १४ हजार पाँच सय ८३ रुपैयाँ जरिमानाको फैसला सुनाएको थियो ।

खातुनसहित उनका पति शेखसिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीप चन्द मण्डललाई जिल्ला अदालतले एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिमाना सुनाएको थियो । कीर्ते मुद्दामा दोषी देखिएका तत्कालीन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजाय फैसला भएको थियो । उच्चले उनका पति शेख सिलवरलाई सफाइ दिएको छ ।

उच्चको फैसलाविरुद्ध खातुनले २०७६ फागुन ११ मा सर्वोच्चमा दोप निवेदन दिएकी थिइन् । खातुनले तीन बिघा १० कट्ठा मोही जग्गा पाउन २०७१ चैत ४ मा तत्कालीन कदमाह गाविसका सचिवको सिफारिस लिने क्रममा कीर्ते गरेकी थिइन् ।

मोही दाबीका लागि भूमिसुधार कार्यालयमा पेस भएको निवेदनमा एउटै चलानी नम्बर देखिएपछि २०७३ जेठ २२ मा उनी सरकारी सहीछाप कीर्ते मुद्दामा पक्राउ परेकी थिइन् । २५ दिन प्रहरी हिरासतमा बसेकी खातुन् त्यति बेला १० हजार रुपैयाँ धरौटीमा छुटेकी थिइन् । २०७४ वैशाख ३१ मा जिल्ला र २०७६ पुस ९ मा उच्चले उनलाई दोषी ठहर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *