छाउगाेठबाट निस्केन ‘कर्णाली’ !

सुत्केरीको गोठमा बास

सुर्खेत । जुम्ला जिल्लाको हिमा गाउँपालिका ५ बुअमा एक महिला सुत्केरी भएपछि ९ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य भएकी छिन् । महिलाहरू महिनावारी हुँदा पनि ७ दिनसम्म अझै छाउगोठमा बस्नुपर्ने समस्या कायमै रहेको बेला सुत्केरी हुँदा पनि गोठमै बस्नुपर्ने अवस्था छ ।

हिमा गाउँपालिकाकी २६ वर्षीय मनसुबा शाही सुत्केरी भएपछि गाई गोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आएकी छन् । सानाे ढोकाभएको अँध्यारो गोठभित्र पस्न पनि निहुरिनुपर्छ । तर, शाही भुईभरी गोरुलाई ओछ्याएको पराल र सोत्तरमाथि शिशुसहित एक सातादेखी गोठमै बसिरहेकी छन् । गोठमा झ्याल नहुुँदा आमा र शिशुलाई आगोकोे धुँवाका कारण थप समस्या उत्पन्न भएको छ । बच्चा जन्मिएको ६ हप्तालाई सुत्केरी समय भनिन्छ ।

यो अवधिमाआमा र बच्चाको सबैभन्दा बढी हेरचाह गरिनुको साथै पोषिलो खानपानमा बढी जाेड दिनुपर्दछ । तर, कर्णालीमा देवीदेउता रिसाउने भन्दै सुत्केरी भएकै समयमा सबैभन्दा बढी हेलचक्र्याइँ गरिँदै आएको छ । मनसुबा आफ्ना लागि आफैँ खाना पकाउने र गोठमा नै सुत्न बाध्य छिन् । ‘सुत्केरी भएको बेला घरभित्र बस्दा देवी देवता रिसाउँछन् । त्यसैले सुत्केरी हुँदा गोठमा बस्नु परेको हो,’ शाहीले भनिन्, ‘यस्तो बेला घरभित्रै बस्ने चाहना त हुन्छ नि, परम्परागत मान्यताले घरभित्र गएमा शुभ हुँदैन नौ दिन पुगेपछि चोखिएर घरभित्र जान्छु ।’

मनसुवाका श्रीमान् दिनेशबहादुर शाही सुत्केरी श्रीमती र छोरालाई भेट्न पटक-पटक गोठमा जान्छन् । रूढीवादी सामाजिक र सांस्कृतिक परम्पराले बाँधेका कारण नवजात शिशुसहित श्रीमतीलाई गोठमै राख्नुपरेको दुःखेसो दिनेशको छ । ‘घरकाआमा, बुबाले नमान्ने र समाजले नानाथरी कुरा काट्ने डरले बाध्य भएर गोठमा राख्नु परेको हो,’ शाही भन्छन्, ‘महिनावरी भएको बेला त कुरै छाडाैँ सुत्केरी हुँदा श्रीमतीले छोएको पानी र खानपान अरुले खाँदैनन् ।’

जुम्लाकी मनसुबा मात्रै होइन, दैलेख र सुर्खेत जिल्लाको पश्चिम क्षेत्र, कालिकोट, मुगु, हुम्ला जिल्लाका सुत्केरी बाख्रा, गाई र भैंसी बाँध्ने गोठमा छाउ बस्नुपर्ने बाध्यता छ ।
सुत्केरीले छोरा र छोरी जन्माएमा गोठमा बस्दा विभेद गरिएको छ । छोरा जन्मिए ९ र छोरी जन्मिए १२ दिन गोठमा बस्नुपर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वयम्‌सेविका पञ्चकला नेपाली बताउँछिन् । सुत्केरी र शिशुको विशेष ख्याल गर्नुपर्ने भएकाले गाइगोरु बाँध्ने गोठमा बस्न दिनुहुँदैन भन्दा नमान्ने गरेको नेपाली बताउँछिन् । ‘वर्षाैँदेखि चलिआएकाे चलन हो । तिमीले भन्दैमा कसरी घरभित्र राख्नु देउता रिसाउँछन् भन्छन्,’ उनी भन्छिन्, ‘परिवर्तका लागि अघि सरेमा गाउँका सबैले नराम्रोसँग रिसाउँछन् । सुत्केरी हुँदा गोठमा त्रासका बीच बस्नुपर्ने बाध्यता ग्रामीण क्षेत्रमा कायमै छ ।’

छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा पनि न्यूनीकरणमा चुनौती थपिएको सामाजिक विकास मन्त्रालयका समाजिक सुरक्षा तथा महिला विकास महाशाखाकी महिला विकास अधिकृत अतिना ज्ञवाली बताउछिन् ।‘वर्षाैँदेखि विद्यमान रहेको प्रथा हटाउन स्थानीय तहको विशेष भूमिका रहन्छ । तर, प्रभावकारीरूपमा काम गरेको देखिँदैन्,’ ज्ञवाली भन्छिन्, ‘मन्त्रालयले समन्वकारी भूमिका निर्वाहमा कुनै कञ्जुस्याइँ गरेको छैन। तर पनि ग्रामीण क्षेत्रमा महिनावारी र सुत्करी हुँदा गोठमा बस्नुपर्ने बाध्यता हटाउन सकेका छैनाैँ ।’

यस्तै, वर्षेनी राज्य र विभिन्न गैह्रसरकारी निकायबाट कर्णालीमा व्याप्त छाउपडी प्रथा उन्मूलनका लागि अभियानहरू सञ्चालनका नाममा करौडाैँ रकम खर्च हुँदै आएको छ । कर्णालीका ग्रामीण वस्तीहरूमा जनचेतना फैलाउने नाममा राज्यको करोडाैँ रकम खर्च हुने गरे पनि कर्णालीका लागि राज्यको यो खर्च बालुवामा पानीसहर हुने गरेको छ ।

छाउगोठ भत्काउन आक्रामक बनेको सरकारले कर्णालीका नागरिकको मष्तिस्कबाट छाउ हटाउन सकेको छैन । छाउप्रथाविरुद्ध प्रशासन, स्थानीय सरकारले अभियान नै चलाएर पनि ति अभियान छाउपडी उन्मूलनविरुद्ध हुन नसक्दा कर्णालीका ग्रामीण भेगमा सुत्केरी हुँदासमेत गोठमा बस्नुपर्ने बाध्यता कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.