भरतपुरमा सिँचाइ नभएर जग्गा बाँझो रहने अवस्था हटाउने मेयर दाहालको दाबी

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा सिँचाइ नभएर जग्गा बाँझो राख्न नपर्ने अवस्था बनाउने बताएकी छन् ।

१९ औँ राष्ट्रिय धान दिवसको अवसरमा भरतपुर महानगरपालिकाको आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख दाहालले सिँचाइको अभाव हुन नदिने बताइन् । त्रिपुरेश्वर कृषि सहकारी भरतपुर–९ ले संयोजन गरेको सो कार्यक्रममा मेयर दाहालले नारायणी लिफ्ट सिँचाइ आयोजना कार्यालयमा करिब ३५ करोडको यन्त्र, उपकरणहरू आई पुगेकाले अब भरतपुरका सबै जस्तो ठाउँमा सिँचाइको पहुँच पुग्ने उल्लेख गरिन् ।

‘डिप बोरिङहरू कृषकहरूलाई वितरण गरेका छौँ’, उनले भनिन्, ‘स्यालो ट्युबेल पनि धेरै ठाउँमा जडान भएका छन् । अब सिँचाइको कुनै चिन्ता छैन।’

मेयर दाहालले विगतमा पश्चिम चितवनका केही भूभागमा खडेरीको समयमा सिँचाइको व्यवस्था नहुँदा खेतहरू त्यसै बाँझो रहने बताइन् । यसैबिच मेयर दाहालले असार १५ कै अवसरमा भरतपुर ६ इन्द्रपुरीमा एउटा डिपबोरिङ र भरतपुर १५ मा ३० वटा स्यालो ट्युबेलको उद्घाटन गरेकी छन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले यो आर्थिक वर्षमा मात्रै डिप बोरिङ ३० वटा र स्यालो ट्युबवेल १८५ वटा सञ्चालनमा ल्याइसकेको छ । आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार डिप बोरिङले ३० बिघा जग्गालाई सिँचाइ गर्न सक्छ भने स्यालो ट्युबेलले ४ बिघामा सिँचाइ गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *