नेकपालाई ब्यूँताउने लाइनमा देखिए घनश्याम र वामदेव

काठमाडौँ । ‘त्यहाँ (नेकपा एमालेभित्र) बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौँ ।

हेर्नुहोला केही समयपछि त्यो फुल्छ, फल्छ’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा भनेका शब्द हुन् यी । प्रचण्डले नेकपा विप्लव समूहमा रहेका नेता तथा कार्यकर्तालाई प्रवेश गराउँदै एमालेभित्र माओवादीको बीउ रोपिएको बताएका थिए ।

प्रचण्डले ‘माओवादीले एमालेभित्र बीउ रोपिएको छ’ भन्नुको अर्थबारे माओवादी केन्द्रका एक नेता भन्छन्, ‘विप्लव समूहका रहेका ठूलो पंक्ति माओवादी केन्द्र प्रवेश गरिसकेका छन्, माओवादी केन्द्र पार्टीमा प्रवेशको लहर अन्य पार्टीबाट पनि भइरहेको छ, एमालेका नेता तथा कार्यकर्ताहरू पनि केही समयपछि क्रमशः माओवादीमा फर्कने अवस्था हुनसक्छ । यही विषयलाई लिएर बीउको कुरा गर्नुभएको होलाजस्तो मलाई लाग्छ ।’ ती नेताका अनुसार पछि त्यो बीउ नै फल बनेर माओवादी केन्द्रमा फर्कने अवस्थालाई संकेत गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो आशय दिएको हुनसक्छ । उनले माओवादी केन्द्रमा अन्य पार्टीहरूबाट प्रवेशको लहर चलेको र पार्टी अझ ठूलो बन्दै गएको दाबी गरे ।

प्रचण्डले एमालेभित्र बीउ रोपिएको र चाँडै फुल्ने र फल लाग्ने कुरा बताइरहँदा एमालेका नेता घनश्याम भुसालले त्यसको खण्डन गरेका छन् । भुसालले प्रचण्डलाई यसको जवाफ फर्काएका छन् । भुसालले कुनै कम्युनिस्ट पार्टीका बीउ नउम्रिने जवाफ प्रचण्डलाई दिए । नेता भुसालले भने, ‘माओवादीको बीउ, एमालेको बीउ, समाजवादीको बीउ, कमरेड फलानाको बीउ, अब यी उम्रिँदैनन् ।’

कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा एमाले नेता भुसालले प्रचण्डलाई तपाईंले रोपेको बीउको भकारीमा तपाईंहरूले नै आगो लगाएको बताए । उनले भने, ‘माओवादीको बीउ, एमालेको बीउ वा समाजवादीको बीउ अब चल्दैन । हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौँ । हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौँ । बीउ सुरक्षित छन्, यसलाई फेरि हाइब्रिड बनाउनुपर्छ । जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ ।’

भुसाल निकट एक नेताका अनुसार अब कम्युनिस्ट नामका अनेकौँ पार्टीभन्दा एउटै पार्टी बनाउने आशयले नेता भुसालले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने बताए । ती नेताले भने, ‘कम्युनिस्टहरूको एउटै पार्टी बनाउने र नेकपालाई पुन ब्यूँताउन सकिने भन्ने आशयका साथ यस्तो अभिव्यक्ति आएको हुनसक्छ ।’ उनले कम्युनिस्टहरूको एउटै पार्टी बनाउन सके देशमा दुई तिहाइ जनमत बटुल्न सकिने बताए । उनले भने, ‘छिन्नभिन्न कम्युनिस्ट पार्टीलाई एउटै बनाउन सक्नुपर्छ, जब कि, कुनै पार्टीले दुई चार जना कार्यकर्ता प्रवेश गराउँदैमा ठूलो पार्टी बनिहाल्न सक्ने अवस्था रहँदैन ।

दुई दिनअघि वामदेव गौतमले पनि नयाँ पार्टी निर्माण गरेका छन् । गौतमकै नेतृत्वमा गठन भएको पार्टीको नाम नै नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) राखिएको छ । वामदेव यसअघि पनि सोही अभियानका संयोजक थिए । वामदेवको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्ने नै एकता राष्ट्रिय अभियानको मूल ध्येय हो । उनले नयाँ दल दर्ता भएपछि पहिलो प्राथमिकता नेकपालाई एकीकृत गर्ने अभियान चलाइने बताए ।

नेता वामदेव गौतम पनि नेकपालाई ब्यूँताउने अभियानमा लागेको देखिन्छ । नेता घनश्याम भुसालले पनि हाइब्रिड नेकपा बनाउने गरी अघि बढ्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् । त्यसकारण पछिल्लो समय नेता गौतम र भुसाल कम्युनिस्टहरूलाई एउटै पार्टी बनाउने लाइनमा देखिएका छन् । नेकपा ब्यूँताउने भने पनि एउटै कम्युनिस्ट बनाउने भने पनि गौतम र भुसाल एकै कित्तामा पछिल्लो समय देखिएका छन् । गौतम निकट एक नेताले भने, ‘तलका नेता तथा कार्यकर्ता एउटै कम्युनिस्ट पार्टी भएको हेर्न चाहेका छन्, भुसाल र गौतम दुबै नेताले कम्युनिस्टहरू सबै मिलेर एउटै कम्युनिस्ट पार्टी बनाउन खोजेको देखिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *