पूर्वपश्चिम राजमार्गको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तारमा विश्व बैंकले ३५ अर्ब ऋण दिने

काठमाडौँ । विश्व बैंकले पूर्वपश्चिम राजमार्गको बुटवल–गोरुसिंगे–चन्द्रौटा ६९ किमी सडक ४ लेनमा विस्तार गर्ने परियोजनामा सहयोग गर्न २७५ मिलियन डलर अर्थात् करिब ३५ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

उक्त अण सहयोग हाल २ लेनको सडकलाई स्तरोन्नती गरी ४ लेनको बनाइने छ । र, यसले सवारी साधनलाई पार गर्न लाग्ने समय ३० प्रतिशत कम गराउने विश्व बैंकले जनाएको छ ।

सरकारले पूर्वपश्चिम महेन्द्र राजमार्गको १ हजार २७ किलोमिटर भागलाई विभिन्न खण्डमा गरेर ४ लेनमा विस्तार गरिरहेको छ ।

सडक विस्तार भएपछि नेपालको क्षेत्रीय व्यापारमा सुधार तथा यातायातको लागत घटाउने विश्वास गरिएको छ । त्यस्तै, सहज यातायात हुँदा भारतको पश्चिमी बन्दरगाहमा समेत पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकअनुसार परियोजनाले महिला उद्यमी र व्यापारीहरूका लागि राजमार्ग छेउमा कम्तीमा तीनवटा बजार क्षेत्र निर्माण गर्नेछ । जसबाट उक्त क्षेत्रबाट महिलाहरू आर्थिकरुपले लाभान्वित हुने विश्व बैंकले भनाइ छ ।

परियोजना अन्तर्गत बजार क्षेत्रमा महिलाका लागि छुट्टै शौचालय, निःशुल्क वाइफाइ सुविधा र समयसापेक्ष व्यापार तथा बजार जानकारीसहितको डिजिटल बुलेटिन बोर्डको व्यवस्था गरिनेछ ।

त्यस्तै, वीरगञ्ज र भैरहवा सीमा नाकामा व्यापार र भन्सार प्रक्रिया अभिवृद्धि गर्न क्षमता अभिवृद्धिमा समेत सडक स्तरोन्नतीको परियोजनाले मद्दत गर्ने विश्वास लिइएको छ ।

परियोजनाले नेपालले यसअघि गरेको ‘मोटर भेहिकल एग्रिमेन्ट’ कार्यान्वयनमा मद्दत गर्नुका साथै कनेक्टिभिटी बढाउने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *