पोखरा विमानस्थलको उडान रुटमा पर्ने रिठ्ठेपानी डाँडा काट्न स्वीकृति

पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्नुअघि पूर्वतर्फको रिठ्ठेपानी डाँडा काट्नुपर्छ । यो अनिवार्य शर्त हो । ३ वर्षअघि देखि डाँडा कटानको प्रक्रिया सुरु गरेपनि हालसम्म स्वीकृति पाएको थिएन ।

विमानस्थल निर्माण करिब सकिने बेला बल्ल स्वीकृति पाएको छ । वन तथा भूसंरक्षण विभागले डाँडा काट्न स्वीकृति दिएको हो । त्यहाँ रहेका रुख र पोलहरू हटाउन स्वीकृति दिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुई पक्षबीच समझदारी भएको निर्देशक प्रदीप अधिकारीले बताए । अध्ययन टोलीले नयाँ एयरपोर्टमा जहाज आउजाउ गर्न रिठ्ठेपानी डाँडा ४० मिटर काट्नुपर्ने प्रतिवेदन दिएको छ ।

यो डाँडा कटानका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि वन मन्त्रालयले स्वीकृत गरिसकेको छ । एयरपोर्टको हालसम्म ९७ प्रतिशत काम सकिएको छ । डाँडा कटान सकिन अझै ७ महिना लाग्ने बताइएको छ । डाँडा काटेपछि सेप्टेम्बर महिनामा क्यालिब्रेसन फ्लाइट गर्ने तयारी छ ।

डाँडा कटानसँगै पोखराको ल्याण्डफिल साइट पनि तत्कालै हटाउनुपर्ने छ । पोखरा महानगरपालिकाले ३३ नम्बर वडाको भरतपोखरीमा ल्याण्डफिल साइट स्थानान्तरण गर्ने निर्णय गरिसकेको छ । तर स्थानीयले विरोध जनाएका कारण प्रक्रिया अघि बढ्न सकेको छैन ।

यसअघि पोखरा १६ र २० नम्बरको सीमानामा ल्याण्डफिल साइट राख्ने तयारी गरिएकोमा स्थानीयकै विरोधले रोकिएको थियो । सबै काम सकेर २०२३ को जनवरी १ देखि व्यावसायिक उडान थाल्ने प्राधिकरणको तयारी छ । निर्माण नसकिँदै चिनियाँ निर्माण कम्पनीले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

विमानस्थल सञ्चालनका लागि भलबाढी पनि अवरोध हो । यसको व्यवस्थापनका लागि काम सुरु भैसकेको छ । चीनको एक्जिम बैङ्कको सहुलियत ऋण लिएर २२ अर्ब लगानीमा विमानस्थल निर्माण सुरु भएको हो । निर्माणको जिम्मा चीनकै सिएएमसीईले पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *