हैजाका बिरामी बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले गर्मी तथा वर्षायाम शुरू भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेकोहो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

उनले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र अनुरोध गरेका छन् । अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ । दूषित खानेपानी कारणले हैजा देखिएको छ ।

झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्न, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुन, खाना बनाउनु, खुवाउनु र खानुअघि साबुन पानीले मिचिमिची हात धुन, पानी उमालेर वा फिल्टर गरेर पिउन वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउन आग्रह गरिएको छ ।

पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुनेजस्ता लक्षण झाडापखलाको रहेको भन्दै मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ भने खान पिउनसमेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भइरहेमा, ज्वरो आएमा र धेरैपटक पातलो दिसा गएमा पनि अस्पताल लैजान भनिएको छ ।

मन्त्रालयले खानपान, सरसफाइ र शरीरमा देखिने लक्षणमा विशेष ध्यान दिन जरुरी रहेको औंल्याएको छ । बासी, सडेगलेको, झिँगा भन्किएको, खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *