नेपालमा लगानी गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलियासमक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग काठमाडौँको जमलस्थित चेम्बर भवनमा मंगबार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत्, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानी गर्न आग्रह गरेका हुन् । नेपाल र अष्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यकता रहेको अध्यक्ष मल्लले बताए ।

अष्ट्रेलियाले नेपालको वन क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए । उनले जडिवुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गर्नसमेत राजदूत वोल्क समक्ष आग्रह गरे ।

अध्यक्ष मल्लले भने, ‘समृद्ध मुलुक अष्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत् बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्न म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’ अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युत्मा लगानी गर्न समेत मल्लले आग्रह गरे ।

वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गरे । अध्यक्ष मल्लले भने, ‘अष्ट्रेलियाको लगानी सुनिश्चित गर्न नीजि क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेर्छ ।’

नेपालका विद्यार्थी अष्ट्रेलियामा अध्ययनका लागि गइरहेको सन्र्दभमा अध्यक्ष मल्लले त्यहाँका विख्यात शैक्षिक संस्थाबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्नसमेत राजदूत वल्कसमक्ष आग्रह गरे । अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाइदा लिन सक्नेमा जोड दिए । यसले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिका खेल्नेमा अध्यक्ष मल्लले विश्वास व्यक्त गरे । सूचना प्रविधीको क्षेत्रमा लगानीका लागि अष्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिनसमेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गरे ।

जवाफमा राजदूत वल्कले नेपाल अष्ट्रेलियाको कुटनीतिक सम्वन्ध ६० वर्षभन्दा पुरानो र ऐतिहासिक भएको बताए । नेपालसँगको ऐतिहासिक सम्वन्धलाई अष्ट्रेलियाले सँधै गर्व गर्ने उहाँको भनाइ छ । नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीको शैक्षिक सुधार तथा भविश्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताए । वल्कले भने, ‘नेपालबाट वार्षिक ५० हजार विद्यार्थीलाई अष्ट्रेलियाले अध्ययन भिषा उपलब्ध गराउँदै आएको छ । अष्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारतपछि नेपाल तेस्रो स्थानमा छ । हामी अझै यसको सुधारको पक्षमा छौँ ।’ नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अष्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाइ छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *