म्याग्दीमा ठेकेदारले काम नगरेपछि बाटोमै रोपे स्थानीयले धान

पोखरा । म्याग्दीको बेनीदेखि दरबाङ जोड्ने सडक स्तरोन्नतिको चरणमा छ ।

उक्त सडक स्तरोन्नतिका लागि ठेक्कासमेत भइसकेको थियो तर, समयमै काम भने हुन सकेको छैन । मंगला- २ नयाँबजारका स्थानीयले सडक स्तरोन्नति नभएको विरोधमा सडकमै धान रोपेका छन् । हिलाम्मे सडकको स्तरोन्नतिमा तीनै तहको सरकारको ध्यान नपुगेको भन्दै व्यङ्ग्यका रूपमा बाटोमै रोपाइँ गरिएको स्थानीयको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले लाम्पाटादेखि दरबाङसम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न विरुवा–क्याराभान जेभीसँग २०७६ सालमै सम्झौता गरेको थियो । ठेक्का लिएर ठेकेदार नआएपछि सडक निर्माण अलपत्र परेको हो । २२ करोड ५७ लाखमा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा काम सक्नुपर्ने हो । सम्झौता मिति सकिएको १ वर्ष बितिसक्दा समेत काम शुरू भएको छैन ।

निर्माणाधीन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे भएको स्थानीय श्रीराम पौडेलले बताए । ‘ठेकेदार नआएको धेरै भयो । सडकभरि हिलो छ । पालिकाको केन्द्र जोड्ने सडककै हालत यस्तो भएपछि नागरिकले कसरी यात्रा गर्ने ?,’ उनले भने, ‘बाध्य भएर सडकमा धान रोपेका हौँ ।’

ठेकेदार कम्पनी ३ महिनादेखि सम्पर्कविहीन भएको स्थानीयहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *