पोखरा महानगरले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने

पोखरा । पोखरा महानगरपालिकाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने भएको छ ।

नगरपालिकाको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा दिने मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार त्यसका लागि आवश्यक बजेट विनियोजन भएको छ । आगामी वर्षमा मात्रै खर्च हुनेगरी १२ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

महानगरले स्वास्थ्य संस्थामा रोग लाग्नबाट बचाउने निदानात्मक सेवा सञ्चालन गरिरहेको छ । आगामी वर्षमा जनसङ्ख्या र भूगोलको आधारमा छनोट भएका विभिन्न ६ वटा स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा दिने आचार्यले बताए ।

महिलाको आङ खस्ने, स्तन र पाठेघरको क्यान्सर बेलैमा पत्ता लगाउने तथा आमा र शिशुको पोषणका लागि पनि बजेट छुट्याइएको छ । पोखराले आफ्नै मातहतमा रहेको शिशु वा अस्पतालमा मिर्गौलाको डायलसिस सेवा सुरु गर्ने भएको छ । सेवा सञ्चालन गर्न ३ करोड ५ लाख बजेट छुट्याइएको छ भने आगामी वर्ष मेट्रो अस्पताल निर्माणको सम्भाव्यता अध्ययन गर्ने निर्णय महानगरको छ ।

कोरोना सङ्क्रमण, सरुवा रोग नियन्त्रण, महामारी नियन्त्रण, विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ३५ लाख विनियोजन गरिएको छ । यसअघि कोरोना महामारीको चरम अवस्थामा पोखराले आफ्नै अस्पताल स्थापना गरेको थियो । कोरोना केही मत्थर भएपनि विभिन्न सरुवा रोगको प्रकोप बढ्दै गएको छ ।

पोखरा महानगरले आगामी वर्ष स्वास्थ्य कार्यक्रमका लागि छुट्टै ४० करोड ५० लाख छुट्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *