सर्वोच्च अदालतमा आईजीपी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ जारी

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्ध दायर मुद्दामा यतिबेला सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासलमा उक्त मुद्दामाथि सुनुवाइ भइरहेको हो । सरकारले सिंहलाई वरीयताक्रम मिचेर आईजीमा बढुवा गरेको भन्दै एआईजी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
गत वैशाख १९ गते आफूमाथि अन्याय भएको भन्दै पोखरेलले दायर गरेको उक्त रिट यसअघि हेर्दाहेर्दैको सूचीमा थियो ।पहिलो सुनुवाइ गर्दै न्यायाधीश शुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई मिति तोकेर छलफलमा बोलाएको सो मुद्दा जेठ १७ गते पेसी भएपनि म्याद तामेली हुन नसक्दा सरेको थियो । लगत्तै जेठ ३० गते प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा पेसी परेको थियो । उक्त इजलासले निरन्तर अन्तिम सुनुवाइ गरिरहेको छ। आज तेस्रो पेसीमाथि सुनुवाइ चलिरहेको हो ।
वरीयताका आधारमा पोखरेलको बढुवा हुनुपर्ने भन्दै उनीहरुले सरकारको निर्णय गैरकानुनी भएकाले खारेज हुनुपर्ने माग गरेका छन् । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरि उप्रेती, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतले असार ५ गते बहस गरेका थिए । पक्षको बहस बाँकी नै रहेपछि इजलासले सुनुवाइ हेर्दा हेर्दैमा राखेको थियो । पक्षका तर्फबाट बहस गर्ने अझै केही कानुन व्यवसायी रहेका छन् । सोमबार पक्षका कानुन व्यवसायीहरूले बहस समाप्त गरेमा आईजीपी सिंह पक्षका कानुन व्यवसायीले बहस गर्न समय पाउनेछन्।
पोखरेलले एआईजी धीरजप्रताप सिंह आफूभन्दा झण्डै डेढ वर्ष जुनियर भएको भन्दै सिंहलाई आईजीमा बढुवा गर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै आएका छन् । साथै, उनले सो पदमा बढुवाका लागि आफू योग्य भएको समेत जिकिर गरेका छन् ।








