गाउँपालिकाले एमबिबिएस पढाउन २० लाख खर्च दिने, तर राख्याे यस्ताे सर्त

काठमाडाैँ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ ।

यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबिबिएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबिबिएस पढाउनको लागि २० लाख रुपैयाँ बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए ।

एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए ।

उनले भने, ‘एमबिबिएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।’ सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।

पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र साँघुमा एक जना एमबिबिएस डाक्टरको पदपूर्ति गर्ने र फार्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *