आँसु झार्दै ८ महिना २० दिनमा बिदा भइन् सहरी विकास मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पदबाट र सहरी विकास मन्त्रालयबाट बिदा लिएकी छन् । उनको पार्टी नेकपा एकीकृत समाजवादीले आफ्ना ४ मन्त्रीलाई फिर्ता बोलाउने भएपछि उनी मन्त्रालयबाट बिदा भएकी हुन् । पार्टीले फिर्ता बोलाएपछि आफूले राजीनामा दिने आवश्यकता नरहेको भन्दै उनी आफू मन्त्रालयबाट विदा भएको बताइन् ।

मन्त्रालयबाट बिदा हुँदै गर्दा मन्त्री झाँक्रीको बिदाईमा मन्त्रालयले पत्रकार सम्मेलन तथा बिदाई कार्यक्रम राखेको थियो ।

मन्त्रालयले राखेको बिदाई कार्यक्रममा उनले अत्यन्तै भावुक बनेर आँसु झारिरहेकी थिइन् । बोल्न खोज्दा पटक पटक गला अवरुद्ध भएपछि उनले छोटो धारणा राखेकी थिइन् । आफूलाई सहयोग गर्ने टिमलाई उनले धन्यवाद दिइन् ।

पार्टीले आफूहरुलाई फिर्ता बोलाउँदा बाहिर सञ्चार माध्यमलाई भन्दा पहिला आफूहरुलाई जानकारी गराएको भए राम्रो हुने उनको धारणा थियो ।

‘हामीले मन्त्री फेर्ने कुरा मिडियाबाट पहिला थाहा नहोस् भनेर पार्टी नेतृत्वलाई पहिल्यै भनेका थियौँ,’ उनले भनिन्, ‘पछि मिडियाबाटै थाहा पायौँ । त्यसपछि बजेट पारित हुँदासम्म पुरानै मन्त्री मण्डललाई निरन्तरता दिने प्रधानमन्त्री तथा पार्टीकाे निर्णय भएपछि हामीले अहिलेसम्म काम गर्यौँ ।’

उनले आइतबार राष्ट्रिय सभामा जवाफ दिएपछि आफूले बिदा लिएको उनले बताइन् ।

सहरी विकास मन्त्रीका रुपमा उनले ८ महिना २० दिन काम गरेकी थिइन् । पदमा रहेर आफूले गरेका राम्रा कामबारे फेरि पनि विभिन्न माध्यमबाट जानकारी गराउने उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *