‘एक्सन मन्त्री’को उपमा पाएँ, २६३ दिन काम गर्दा ९० प्रतिशत सफल भएँ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रालयबाट बाहिरिँदै गर्दा पत्रकार सम्मेलन गरेर आफूले गरेका काम कारवाहीबारे जानकारी गराएका छन् । १० गते नै राजीनामा बुझाएका मन्त्री आलेले झण्डै ९ महिना (२६३ दिन) पदमा बहाल रहेर काम गर्दा आफू ९० प्रतिशत सफल भएको बताए ।

आफूलाई चाँडै नतिजा चाहिने भन्दै उनले नतिजामुखी भएर काम गरेको बताए । उनी आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट भएको वा ९० प्रतिशत अंक ल्याएको बताए ।

‘एक्सन मन्त्री’ उपमा आफूले पाएको र यसले आफूलाई ऊर्जा प्रदान गरेको समेत उनले बताए ।

हवाइजहाज तथा हेलिकोप्टरलाई संघीय संरचनाअनुसार लैजाने, पशुपती धर्मशाला, नारायणीहिटी संग्रहालय, वायु सवा निगमलगायतका ठाउँमा आफूले दर्जनौँ सुधारको काम गरेको बताए ।

गौतम बुद्ध विमानस्थलको सफल सञ्चालनमा ल्याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल चौबीसै घण्टा र अन्य विमानस्थल १८ घण्टा सञ्चालन ल्याउने काम भएको उनले बताए ।

काठमाडौँबाट मात्र उडान हुने गरेकोमा अब विमानहरुले आधार विमानस्थलबाटै उडान गर्ने व्यवस्था सुरु गरेको बताए ।

सटल बस सेवा सञ्चालन, परीक्षण शुल्क घटाएको, आइकाओको संपरीक्षण कार्य सम्पन्न गरिएको, इलामको सुकिलुम्बा विमानस्थल निर्माण सम्पन्न गरेको बताए ।

पोखरा विमानस्थलको निर्माण ९७ प्रतिशत सकिएको उनले बताए । यी यस्ता थुप्रै महत्वपूर्ण काम गरेकाे भन्दै उनले पत्रकार सम्मेलनमा फेहरिस्त प्रस्तुत गरे ।

आले २०७८ साल असाेज २२ गते गठबन्धन सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *