लेखक भरत गुरागाईंकाे अनुभव:

‘ज्यूँदै चितामा बसेर मृत्युको कल्पना गरेँ’

रंगकर्मी, कवि तथा लेखक भरत गुरागाईँ ‘बर्बरिक’ २०२४ सालमा जन्मिएका हुन् । उनले ५४ वटा नाटक लेखेका छन् । ६ हजार पटक भन्दा बढी नाटकमा अभिनय गरेको दाबी गर्ने गुरागाईँ नेपाल, बङ्गलादेश र भारतमा पनि पुगेर नाटकमा अभिनय गरेको बताउँछन् । ४ वटा कविता सङ्ग्रह र ३ वटा नाटक सङ्ग्रह प्रकाशित गरेका गुरागाईँले २५ वटा नाटकको निर्देशन गरेर निर्देशकको रूपमा भूमिका निभाए । नाटकहरू गर्दै गर्दाको एउटा सिङ्गो सँगालोको रूपमा आफूलाई उभ्याएको दाबी उनी गर्छन् । २६ वर्ष शिक्षण पेसामा रहेका गुरागाईँ जागिरबाट स्वैच्छिक अवकाश लिएर अहिले नाट्यकर्ममा पूर्णकालीन रूपमा लागेका छन् ।

पारिवारिक पृष्ठभूमि
म ग्रामथान २ झोराहाटमा २०२४ सालमा जन्मिएका हुँ । झोराहाट आउन भन्दा पहिला मेरीमा आमाको माइती तेह्रथुमको कालीमाटी हो । धनकुटा बिहे भयो । मेरो बुबा पल्टनमा हुनुहुन्थ्यो रे । धनकुटा बिहे गरेर आएकी आमाले अति नै बुहार्तन (पीडा) खप्नु पर्‍यो । परिवारमा त्यो असीमित यातना खप्नु परेपछि आमा त्यहाँ बाँच्न नसक्ने ठानेर आमा माइत आउनु भयो । माइत भनेको त्यो बेला तेह्रथुम हो । त्यो बेला सारा लुइँटेल परिवार बसाइँ सराई गरेर झोराहाट आएका थिए । ती लुइँटेल परिवारहरू झोराहाट आएर फडानी गरेर बसेका हुन् । मेरी आमा पनि सँगै झोराहाट झर्नु भएछ । झोराहाट बि.सं.१९९० सालको फडानी हो । हाम्रो हजुरबुबाहरूले आएर झोरा फडानी गरेर बस्नु भएको हो । आमा आउनु भयो त्यहीँ बस्न थाल्नुभयो पछि बा पनि फर्किएर आएर झोराहाट नै बसे । हामी ११ जना दाजुभाइ दिदी बहिनी सबै झोराहाटमा जन्मियौँ । ५ जना दाजुभाइ जन्मने बित्तिकै बिते, अहिले हामी ४ जना दाजुभाइ र २ जना दिदी बहिनी छौँ ।

आर्थिक अवस्था कमजोर
मैले अक्षर चिनेको सरस्वती माध्यमिक विद्यालयबाट हो । त्यो बेला हामी बरको रुख मुनी बसेर पढ्थ्यौँ, केही धुलौटे कोठाहरू पनि थिए । अहिले नमुना माध्यमिक विद्यालय भएको छ विशाल भवन छ । त्यो बेला म अति पातलो र काले थिएँ, ‘मातड तोड पहलमान जस्तो’। विद्यालय पढ्ने बेलामा म सधैँ प्रथम हुन्थेँ । बढ्ने बेलामा पनि नियमित विद्यालय जान पाइन, बाख्रा चराउन जान्थेँ । २५ वटा बाख्रा थिए । पढ्ने भनेको खेतबारीका आलीमा बसेर नै थियो । हामीलाई हातमुख जोड्न नै समस्या थियो । आमाको काम सखुवाको जरा उखेल्ने, अरूको काम गर्न जाने, अरूको खेत रोप्न जानु हुन्थ्यो एक दिनको एक रुपैयाँ पाउनु हुन्थ्यो ।

त्यही एक/एक रुपैयाँ जोहो गर्नु पर्ने आमाको बाध्यता थियो । आमासँगै दिदी पनि खेत रोप्न जाँदा म पनि सँगै जान्थेँ । खेतालालाई ल्याएको खाजा (कलौ) खान पाइन्छ भनेर खाजा कुरेर बस्थेँ । (उनी बाल्यकाल सम्झँदै भक्कानिन्छन् ।) त्यो खाजा मैले पनि खान पाउँछु भनेर त्यो हिलो आलीमा उभिएरै बस्थेँ । त्यो खाजाको पर्खाई, अनि खाजाको लागि ल्याइदिएको रोटी आमा र दिदीले दिनुहुन्थ्यो खुब रमाएर खान्थेँ । यो बि.सं. २०३०।२०३५ साल तिरको कुरा हो । जग्गा थियो उत्पादन हुँदैन थियो । मेरो साथीहरूले कसरी दसैँ मनाउँछन् भन्नको लागि मात्र हामीलाई दसैँ आउँथ्यो, हामीलाई हात मुख जोड्नको लागि समस्या थियो । हामीलाई खानकै समस्या थियो, चामलकै समस्या थियो ।

पढ्ने भनेको खेतबारीका आलीमा बसेर नै थियो । हामीलाई हातमुख जोड्न नै समस्या थियो । आमाको काम सखुवाको जरा उखेल्ने, अरूको काम गर्न जाने, अरूको खेत रोप्न जानु हुन्थ्यो एक दिनको एक रुपैयाँ पाउनु हुन्थ्यो । त्यही एक/एक रुपैयाँ जोहो गर्नु पर्ने आमाको बाध्यता थियो ।

लाहुरे बा कुष्ठरोगी भए
लाहुरमा गएका बा, लामो समय उतै बसे । बालाई कुष्ठरोग (सकेकुष्ट)रहेछ, त्यही भएर बा पल्टनबाट फर्किए । आमाको भनाई अनुसार बा २२ वर्ष थला पर्नु भयो । बा को २०३४ सालमा देहान्त भयो । त्यो बेला म ४ कक्षा मा पढ्थेँ होला । मलाई बा’को बारेमा धेरै याद छैन । मैले बा’को स्नेह माया पाइन । मैले बा’को काँधमा चढेर संसार देखिन । मैले बा बाट भविष्य पाएको हैन । बा ले जागिर छाडेर आएपछि मात्र हामी जन्मिएका हौँ । अहिले त बा’को चिनो पनि हामीसँग छैन । फोटो पनि हामीसँग छैन । आमाको दुख-दुखबाट हामी हुर्किएको हाैँ । लामो समय कुष्ठरोगले थलिएका बा बित्नुहुन्छ भनेर मेरो व्रतबन्ध गरिएको थियो । सानै बच्चैमा यसले किरिया गरोस् भनेर होला । बा’को निधन भएपछि किरियामा बसेकी मेरी आमाले छिमेकीसँग एक टिन चामल देउन् भनेर माग्नु भयो, ती धनी व्यक्तिले एक टिन चामल पनि दिएनन् । यस्ता कयौँ अनुभूति छन् हामीसँग ।

मेरो कान्छी दिदी, मेरो साइँलो दाजु र म हामी तीन जनाको पढाएकोलागि मेरो ठुल्दाजु, माल्दाजु र मेरो ठुली दिदीले बढ्न पाएनन् । हामीलाई हुर्काउन, हामीलाई सहयोग गर्नका लागि आमा, दिदी र दाजुले साँधै सहयोगी बन्नु भयो । त्यो बेलामा फिस तिर्नु पर्थ्यो । एक महिनाबाट अर्को महिनामा फिस नतिर्दा १ नम्बरमा भएको नाम अन्तिममा पुर्‍याइदिन्थे । कक्षा ८ सम्म सरस्वती माध्यमिक विद्यालय झोराहाटमा पढेँ । त्यसपछि उच्च शिक्षाका लागि महेन्द्र मोरङ क्याम्पसमा पढेका थियौँ । दाइ र म ट्युसन पढाउन थाल्यौँ, दिदी ढाकाको कपडाको तान बुनेर पढ्नुहुन्थ्यो ।

कम्युनिष्ट विचार
आर्थिक अवस्था कमजोर रहेको थियो । त्यही बिचमा मेरो दाइले राष्ट्रिय वाणिज्य बैङ्कमा नाम निकाल्नु भयो । त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा लागेको भन्दै केही महिनामै जागिरबाट निकालिदिए । थोरै भएपनि आर्थिक रूपमा सहज हुन्छ की भनेर खुसी भएको परिवारमा अर्को पीडा थपियो । राजनीति गर्ने भन्दापनि विचार र आस्थाको आधारमा राजनीति हुन्थ्यो । राजनीति अगाडी आएर हैन पछाडि बसेर सहयोगीको रूपमा राजनीति गरिन्थ्यो । गाउँमा जनपक्षीय उम्मेदवारको सन्दर्भलाई लिएर गाउँमा पनि आफ्ना कुरा राखिन्थ्यो । मलाई पुलिसले साह्रै दुख दिन्थ्यो ।

जागिरे जीवन
पञ्चायती व्यवस्था ढल्ने क्रममा म रेडक्रसमा स्वयंसेवी काम गर्छु भनेर हामफालेँ । डिप्लोमा पहिलो वर्ष पास गरिसकेको थिएँ । त्यही बेलामा मैले रेडक्रसमा जागिर गर्न थालेको थिएँ । रेडक्रसमा जागिर खाँदाखाँदै शिक्षा आयोग दिएको थिएँ । बहुदल पनि आयो, शिक्षक सेवा आयोगको रिजल्ट पनि आयो । पास भएँ । त्यसपछि मैले साँढे १५ वर्ष जनता मावि हरैँचामा काम गरेँ । त्यसपछि सरुवा भएर झोराहाट आएर साँढे १० वर्ष सरस्वती मावि झोराहाटमा शिक्षक भएर काम गरेँ । २६ वर्ष शिक्षण पेसामा बिताएपछि अब मेरो जीवनको इच्छा पूरा गर्नुपर्छ भनेर स्वैच्छिक अवकाश लिएर विषय केन्द्रित रूपमा अघि बढ्नुपर्छ भन्ने लाग्यो राजीनामा दिएर नाटक र कवितामा केन्द्रित भएर लागेको छु । २६ वर्षको यो अवधिमा जनता मावि हरैँचामा जागिर खाइन सेवा गरेँ । झोराहाटमा आएपछि मैले जागिर खाएँ ।

नाटक र कविता
झोराहाटमा नाटक हुने परम्परा २०१६ साल देखि कै हो । हामी निक्कै पछि जन्मिएपनि हाम्रो रगतमा नाटक छ । त्यहाँ नाटक हेरेर नाटक सिकेको हो । १२ वर्षको हुँदा देखि म नाटकमा थिएँ । म नाटक हेरेर नाट्यकर्मी भएको हो । त्यो बेला नाटक सिकाउने कोही थिएन । बर्मेली नागरिक भवानीप्रसाद निरौला बर्माबाट झोराहाट आफन्तकोमा आएका थिए । आफन्तकोमा आएका निरौलाले त्यो बेलाका युवालाई नाटक सिकाएर दसैँमा नाटक गराउनु भएको थियो । त्यसपछि झोराहाटमा नाट्य परम्परा अगाडी बढेर गयो । हाम्रा अग्रजहरू थुप्रै हुनुहुन्थ्यो (उहाँहरूको निधन भइसकेको छ) उहाँहरूले पनि नाटक गर्नु हुन्थ्यो । अझै केही हुनुहुन्छ वृद्ध अवस्थामा उहाँहरू नाट्यकर्मी हुनुहुन्थ्यो । त्यसलाई हामीले निरन्तरता दिँदै आएको हो । हामी भन्दा अग्रजहरू पनि नाट्यकर्मी हुनुहुन्छ । अहिले झोराहाटमा नाटक घर छ । प्रशिक्षित गर्छौँ ।

शिक्षण पेसा छाडेर नाट्यकर्ममा लागेको हुँदैहैन । म नाट्यकर्मी त पहिले नै थिएँ । हिजो शिक्षण पेसा मेरो जीवनको लागि जरुरी थियो । मेरो जीवन र परिवारको लागि जरुरी थियो ।

मैले पूर्वका ८ जिल्लाका १ सय जना सिकाएर कलाकार बनाएँ । प्रशिक्षण त धेरैलाई सिकाइयो त्यो गणना पनि छैन । केही नाट्यकर्मीको रूपमा नै क्रियाशील रहेका छन् । साहित्यभित्रको नाटक र कविता नै म लेख्नेगर्छु । जसले नाटक गर्छ, उसले कविता लेख्छ लेख्न जान्नुपर्छ । यो भनेको भावनासँग जोडिएको कुरा हो । मैले आफैले मात्र ५४ वटा नाटक लेखेको छु । ती सबै नाटकहरू मञ्चन भएका छन् । मैले ६ हजार पटकभन्दा बढी नाटक अभिनय गरेँ । मैले नेपाल, बङ्गलादेश र भारतमा पनि पुगेर नाटकमा अभिनय गरेको छु ।

मैले पुस्तक पनि सार्वजनिक गरेको छु । ४ वटा कविता सङ्ग्रह र ३ वटा नाटक सङ्ग्रहको पुस्तक सार्वजनिक गरिसकेको छु । मैले अहिलेसम्म २५ वटा नाटकको निर्देशन गरेर निर्देशकको रूपमा काम गरेँ । मैले संयोजनकारी भूमिकामा धेरैवटा काम गरेको छु । नाटकहरू गर्दै गर्दाको एउटा सिङ्गो सँगालोको रूपमा आफूलाई उभ्याएको छु जस्तो लाग्छ । थुप्रै अनुभूतिहरू गाँसिएका छन् । मैले यति नै कविता लेखेँ भन्ने छैन । ४ वटा सङ्ग्रहको रूपमा आएपनि यस्ता सङ्ग्रह धेरै आउनसक्छ।

म एउटा अनुभूति सुनाउँछु, ‘महेन्द्र मोरङ कलेज जाँदा केही डायरी बोकेर गएको थिएँ । त्यो फर्किएर घरतर्फ जाँदैगर्दा जलजला मोडको सिनेमा हल नजिकै मेरो झोला हरायो । म अन्त्यतै डराएँ, घर पुगेर मेरो घरमा भएका सम्पूर्ण डायरीहरू क्रान्तिकारी पुस्तकहरूलाई घरको पूर्वतर्फको बारीमा खाल्डो खनेर गाडेँ । त्यो बेलाको रचनामा क्रान्ति बाहेक केही देखिँदैन थियो । त्यो क्रान्तिका रचनाहरू सबै प्लास्टिकको बोरामा बेरेर खाल्डोमा गाडेँ । जब बहुदल आयो त्यो बेला खोतलेर हेर्दा डायरी भेटियो, डायरी थियो तर लेखिएका अक्षरहरू केही थिएनन् । त्यो माटोमा हालेर पुरिएका कुराहरू कागज बसेपनि अक्षर मेटिँदा रहेछन् ।’ यसरी थुप्र कविता मैले गुमाएँ । अहिले मलाई कसैले पञ्चायती कालको कविता दे न, भन्यो भने मलाई गाह्रो हुन्छ । कतिपय रटिएका कुराहरू सुनाउनसम्म सक्छु । तर पनि म सँग पर्याप्त कविताहरू छन् ।

शिक्षण पेसा छाडेर नाट्यकर्ममा लागेको हुँदैहैन । म नाट्यकर्मी त पहिले नै थिएँ । हिजो शिक्षण पेसा मेरो जीवनको लागि जरुरी थियो । मेरो जीवन र परिवारको लागि जरुरी थियो । सँगसँगै म नाट्यकर्मी पनि त थिएँ । दुई कर्म मध्ये एक रोज्नु पर्छ भन्ने महसुस भयो । म तलब लिएर काम गर्ने ठाउँमा समय दिन नसक्ने भएपछि मैले विद्यालयलाई न्याय गर्नको लागि राजीनामा दिएको हुँ, त्यसपछि नाट्यकर्ममा प्रशस्तै समय दिएँ । नाटकमा आनन्द बाहेक अरू केही हुँदैन ।

नाट्यकेन्द्रको स्थापना
२०६९ सालमा हामीले झोराहाट नाट्यकेन्द्रलाई स्थापना गर्‍यौँ । त्यो भन्दा अगाडी पनि हामी यो अभियानमै थियौँ। हाम्रो रियल्सल गर्ने ठाउँ थिएन । खाट बोकेर चोकमा नाटक गर्नु पर्थ्यो । नाट्यकेन्द्र स्थापना गरेपछि ‘धुपेन की धुईँयाँ’ नाटक गर्ने तयारी हुँदैगर्दा अब नाटक घर चाहिन्छ भनेर हामीले नाटक घरको कल्पना गरेर नाट्यकेन्द्र स्थापना भएको छ । घर बनाएका छौँ । अब समस्या छ, अबको २ वर्षमा हामीले त्यो ठाउँ छाड्नु पर्छ । त्यो घर हुनुले ठूलो केन्द्रको महसुस गरेका छौँ । कविता गजल, मुक्तकको संसार बनाएका छौँ । साहित्यकारको चौतारीको रूपमा विकास गरेका छौँ । अहिलेसम्म २४ वटा नाटक नै झोराहाट नाट्यघरमा भइसकेको छ। यो पूर्व या पश्चिममा यसरी सघन ढङ्गले नाटक हुँदैन । हामीले केही गरेका छौँ है भन्न मात्र खोजेको हो । अब हामी जग्गा किनेर वा सरकारी जग्गा खोजेर व्यवस्थित गर्नु छ, फेरी जग्गा खोज्ने काममा लागेका छौँ । हामीले राम्रो कर्म गरेपनि हामीले हाम्रैलागि घात गरेका रहेछौँ । राज्यले दिने सेवा सुविधा लिजको जग्गामा हुने रहेनछ । अब मैले मेरो कार्यकालमा कुनै नाटक घर बनाउन सकिन भने त्यो मेरोलागि जीवन भरको पछुतो हुन्छ । कति विद्यार्थी म भनेर लागे, उनीहरूको बिचल्ली हुने अवस्था आउन दिनु हुँदैन । अबको २ वर्षमा पुराना संरचना भत्कन्छ, जग्गा खोजी हुन्छ र नयाँ ठाउँमा नाटकघर बन्छ ।

बरबरिकको कथा
प्रसिद्ध आख्यानकार प्रदीप नेपालले एउटा उपन्यास बर्बरिक लेख्नु भएको छ । बर्बरिक उपन्यासमा उहाँले मदन भण्डारीको २०४४ सालदेखि २०५० सालसम्मको जीवन वृत्तान्तलाई औपन्यासिक रूप दिनु भएको छ । दासढुंगा दुर्घटनामा गएर उहाँको उपन्यास समाप्त हुन्छ । मलाई त्यो बर्बरिक उपन्यासको नाटक बनाउन मन लाग्यो । त्यो उपन्यासलाई आधार बनाएर नाटक बनाउन प्रदीप नेपाल दाजुलाई फोन गरेँ । दाइले हुन्छ भन्नुभयो । नाटक बनाउन २५ औँ पटक बर्बरिक पढेँ, नोट म्याकिङ गरेँ, धेरै मेहनत गरेँ । प्रसिद्ध लेखकले लेखेको अलिकती तलमाथि पर्‍यो भने गाह्रो पर्ने लाग्यो र निक्कै मेहनत गरेँ । करिब डेढ वर्षसम्म नाटकको तयारी गरेपछि हामीले त्यो नाटक पहिलो पटक झोराहाट नाट्य केन्द्रमा सार्वजनिक गर्न सफल भयौँ । त्यो नाटकमा बर्बरिकको भूमिका मैले निभाएँ । यो काममा मलाई एमालेका नेता गुरु बरालले मदन प्रतिष्ठानमा पुर्‍याउने, त्यहाँ मदन भण्डारीको बारेमा अध्ययन गर्नलाई धेरै मद्दत गर्नुभयो । मैले मदन प्रतिष्ठानमा गएर मदन भण्डारीको टोपी देखि जुत्तासम्मको अध्ययन गरेँ, बडी ल्याङ्ग्वेज अध्ययन गरेँ, बेलन शैलीको बारेमा अध्ययन गरेँ । मलाई मदन भण्डारीकै जसरी प्रस्तुत हुनको लागि नाटक निर्देशक जीवन बरालले ठुलो भूमिका निभाउनु भएको छ ।

मेरो गन्तव्य कहिल्यै स्पष्ट भएन । गन्तव्यविहीन यात्री हुँ जस्तो लाग्छ । मलाई मर्दै गर्दा पनि एउटा नाटक हेर्न पाउँ, एउटा कविता सुन्न पाउँ भन्ने लाग्छ। म योजना विहीन मान्छे हुँ, म बर्बरिक हुँ, म दलित हुँ । म उत्पीडित हुँ । भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण बिना समाज निर्माण र विकास हुन सक्दैन, देश बन्दैन ।

त्यो नाटक गर्दा मलाई ठुलो गर्व छ, म अहिले पनि मदन भण्डारीको जस्तै गरी बोल्न सक्छु । झोराहाटमा त्यो नाटक गरेपछि बिर्तामोड, कानेपोखरी सहित काठमाडौँको कुञ्ज थिएटरमा त्यो नाटक देखायौँ । त्यो नाटक देखाउन जाँदा हामीले नाटक देखाएको बर्बरिकको हो, बर्बरिक भनेको मदन भण्डारी हो । बर्बरिकको श्रीमती अहिले राष्ट्रपति हुनुहुन्छ । उहाँको सहयात्री केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँहरूले यो नाटक हेर्नु पर्छ भनेर मैले एउटा टेलिभिजन अन्तरवार्तामा भनेको थिएँ । मदन भण्डारीको हत्याराको फायल खोलिनु पर्छ भनेर कडा शब्दमा भनेको थिएँ । त्यसपछि राष्ट्रपति कार्यालयबाट म माथि फलोअप भयो, नाटकको भिडियो मागियो । मैले भिडियो दिँदैनौँ भनेँ । राष्ट्रपति विद्या भण्डारीले म त्यो नाटक हेर्छु भन्नु भएछ । शीतल निवासमा ६ घण्टा भित्रमा स्टेज तयार पारेर त्यहाँ राष्ट्रपति, प्रधानमन्त्रीले नाटक हेर्नु भयो, उहाँहरू दुवै जना भावुक हुनु भएको थियो । त्यसपछि मैले आफूलाई बर्बरिक सम्झिएँ र मैले आफ्नो नामको पछाडि बर्बरिक नाम राखेँ ।

ज्यूँदै चितामा, मृत्युको महसुस 
म यही विराटनगर महानगरपालिका -१ मा रहेको परोपकार घाटमा पुगेको छु । परोपकार घाट छ नि त्यो परोपकार घाट जहाँ जुन चितामाथि मान्छेलाई राखेर जलाइन्छ त्यहाँ म सुतेर मृत्युको अनुभूति गरेको छु । एकदमै तथ्यमा गएर त्यो अनुभव गरेको छु । भोलि म मरेर जलाइँदा मैले कस्तो महसुस गर्न सक्नु भन्ने अनुभव लिएको छु । आगो लगाइएन, दाउरा पनि राखिएन । त्यहाँ मान्छे जलाउन बनाइएको ठाउँ छ, त्यहाँ मान्छे जलाइएको थियो । चिता फोहोर थियो, मान्छे जलाइएका हड्डी खुड्टीहरु थिए । चितामा कालो कपडा ओछ्याएँ र मैले त्यहाँ ४ मिनेट सुतेर मृत्युको महसुस गरेको छु । मृत्युको अनुभूति गरेको छु । त्यो अनुभूति अहिले म कहिलेकाहीँ पुस्तक र कवितामा लेख्ने गरेको छु । यो मेरो यथार्थ अनुभूति हो । अर्को कुरा मैले एउटा चियानघरको उपन्यास लेख्दैछु ।

हाम्रो बेलवारी साइटमा मानिसलाई मरेर पुरिसकेपछि एउटा सानो-सानो घर बनाएको हुन्छ । त्यो घर श्रद्धाले बनाई दिएको हो । हामी मरेपछि जलाइन्छौँ होला तर त्यो गाडेर घर बनाइदिने सम्भ्रान्त संस्कृति हो । ती मरेर गाडिएका मान्छेहरू हाम्रा सल्लाहकार हुन् । ती मरेका मानिससँग पनि हामीले सल्लाह लिनुपर्छ । मौन संवाद गर्नुपर्छ । त्यहाँ मैले उनीहरूसँग बसेर मौन संवाद र कुराकानी गरेको छु । त्यहाँ म १० पटक जति गएको छु । आफ्नो आमा बा’लाई जलाएको भएपनि त्यहाँभित्र आफ्नो आमा-बा भएको सम्झन्थेँ । चिहानमा रहेका ती व्यक्तिले ज्यूँदो हुँदा समाजको कस्तो राम्रो कल्पना गर्थ्याेहोला भनेर धेरै विषयमा मौन संवाद गरेँ । मरेर गएका छन् भने पनि ज्युँदो अनुभूति लिनुस् र उहाँहरूसँग सल्लाह लिनुस्, म के गरौँ भनेर सोध्नुस्, सही सल्लाह ती मरेर गएकाहरूले मात्र दिन्छन्, किनकि तिनीहरूमा पूर्वाग्रह छैन । छोरी पनि त्यहाँ सँगै गएकी थिइन् छोरी डरले त्यहाँ गइनन् म त्यहाँ गएँ धेरै पटक पुगेर एउटा उपन्यास लेखेको छु । एक डेढ महिनामा सार्वजनिक गर्ने तयारी गर्दैछु ।

अबका योजना
मेरो गन्तव्य कहिल्यै स्पष्ट भएन । गन्तव्यविहीन यात्री हुँ जस्तो लाग्छ । मलाई मर्दै गर्दा पनि एउटा नाटक हेर्न पाउँ, एउटा कविता सुन्न पाउँ भन्ने लाग्छ। म योजना विहीन मान्छे हुँ, म बर्बरिक हुँ, म दलित हुँ । म उत्पीडित हुँ । भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण बिना समाज निर्माण र विकास हुन सक्दैन, देश बन्दैन । भाषा, साहित्य, कला, संस्कृतिको संरक्षणको काम भएको छैन । ५ वर्ष भयो प्रदेश संरचना बनेको तर अहिलेसम्म खै प्रदेशमा यसको लागि काम गर्ने संयन्त्र ? दृष्टीविहिन मान्छेहरू मन्त्री भएका छन् । केही गरौँ भन्ने, यो क्षेत्र बुझेका मन्त्री कोही पनि मैले देखेको छैन । सत्ता र सरकार हाम्रो गतिविधिको विरुद्धमा छ ।

  • गुरागाईँसँग मकालुखबरकर्मी सुमन सुस्केराले गरेको कुराकानीमा आधारित
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.