म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो, बस्ती जोखिममा

म्याग्दी । जिल्लाको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन् ।

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

“गाउँपालिकाभित्र २१६ वटा पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएका छौँ”, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, “कुइनेमङ्गले–८ मा रहेको चौरखानी, चिमखोलाको–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामको लागि मुख्य प्राथमिकतामा रहेको छ ।”

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिरोका उच्च जोखिममा रहेका र ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गरेर कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराेकाे उच्च जोखिममा रहेका स्थानीयवासी दीपक कार्कीले बताउछन् ।

यसैगरी ५२ घर रहेको रघुगङ्गा ८ चौरखानीमा हाल ३० परिवारको बसोबास छ । पहिरोको त्रासकै कारण आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा गएर बसेका छन् । गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिराले चौरखानीमा सामुदायिक भवन र एउटा घर भत्केका वडासदस्य यामकुमारी घर्तीले बताउछिन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *