धुलिखेल नगरपालिकाद्वारा मानव कल्याण समाजलाई ५ करोड लागतको घर हस्तान्तरण

धुलिखेल । धुलिखेल नगरपालिकाले ‘बेवारिसे सडक-मानव मुक्त’ काभ्रे जिल्ला निर्माण अभियानका लागि मानव कल्याण समाजलाई ५ करोडको भवन हस्तान्तरण गरेको छ ।

बागमती प्रदेश सरकार, सहरी विकास मन्त्रालयको अनुदानमा धुलिखेल-१२ संखुमा निर्माण भएको सो भवन धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंलाई हस्तान्तरण गरेका हुन् । ५ करोड रुपैयाँको लागतमा करिब १० रोपनी क्षेत्रफलमा निर्मित चारवटा भवन नगरपालिकाले मानव कल्याण समाजलाई उपलब्ध गराएको हो । २०७२ सालको भूकम्पपछि भक्तपुरका सडक-मानवलाई खाना, खाजा खुवाएर शुरू भएको अभियानअन्तर्गत् हालसम्म ७ सयजनाको उद्धार गरिएको समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले बताइन् ।

भक्तपुर, काभ्रे र दाङ गरी हाल मानव कल्याण समाजका तीन शाखामा जम्मा दुई सयजना आश्रित छन् । समाजले भक्तपुरकै नलिनचोकमा छुट्टै बाल सेवागृह पनि सञ्चालनमा गर्दै आएको छ जसमा ३५ जना बेसाहारा बालबालिका आश्रित छन् ।

भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अशोक कुमार ब्यान्जुले ‘मानव कल्याण समाजको  सेवा घरलाई जहाँ समस्या पर्छ, त्यहाँ नगरपालिकाले सम्पूर्ण जिम्मेवारी लिने’ प्रतिबद्धता व्यक्त गरेका छन् । धुलिखेल १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेको अध्यक्षता सम्पन्न उक्त  कार्यक्रममा  धुलिखेल नगरपालिकाकी पूर्व उपप्रमुख बिमला शर्मा, सुर्यविनायक नगरपालिकाकी पूर्व उपप्रमुख जुना बस्नेत, सेवा घरका अभिभावक तथा संरक्षक बाल मुकुन्द सुवालले मानव कल्याण समाजले पुर्‍याएको योगदानको मुक्त-कण्ठले स्वागत गरेका छन् ।

सेवा घरलाई सहयोग

समारोहकैबीच सेवा घरको सेवाबाट प्रभावित भई धुलिखेल-१२ का पूर्व वडा अध्यक्ष हर्क बहादुर तामाङ र वडा शदस्य गोपी कृष्ण श्रेष्ठले जनही रु. एक लाख पाच हजार  प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने उत्तम राजभण्डारीले रु. २५ हजार, भिमलाल श्रेष्ठले रु. १० हजार तथा मन्जु बस्नेत, बलराम खड्का, धन शर्माले ५–५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

मझौला व्यवसायी संघका अध्यक्ष कृष्ण लाल श्रेष्ठले सेवा घरका एक छोरालाई १२ कक्षासम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेका छन्। त्यस्तै, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले सबै छोराछोरीलाइ १/१ सेट कपडा उपलब्ध गराउने  प्रतिबद्धता व्यक्त गरेका छन् । समाजका सचिव विजय पोखरेलका अनुसार, सरिता थापा, बिजुली माया कर्माचार्य, सुनिता थापा, भवानी पन्त, रोशना बज्राचार्य, पेशल आचार्य र हाम्रो परिवार राम्रो परिवारले खाद्यान्न, लत्ताकपडा तथा फलफूल उपलब्ध गराएका छन् ।

समारोहमा धुलिखेल १२ का पूर्व वडाअध्यक्ष हर्क बहादुर तमाङ, सेवा घरका अभिभावक तथा पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, राष्ट्रिय सन्चार केन्द्रका अध्यक्ष पेशल आचार्य, प्रहरी नयाब उपरीक्षक हरि खतिवडा, काभ्रे उधोग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसक्षे, कलकल ग्रुप प्रालिका सिईओ रगिता बस्नेत, सेवा घरका अभिभावक बलराम थापा, समाजसेवी हिरा सिंह तामाङ, समाजसेवी खाइबा लामा, विष्णु शर्मा र कृष्णमणि कुइँकेल लगायतको सहभागिता रहेको थियो ।

साथै, देवडोल जीवन योग प्रयोगशाला, केयु योग साधना केन्द्र, मानव सहायता समूह नेपाल, युनाइटेड पिस किरण क्लब, हाम्रो परिवार राम्रो परिवार लगायत, स्थानीय समाजसेवी, भद्रभलाद्मि, सहयोगी, शुभेक्षुक, शुभचिन्तक, अभिभावक लगायतका संस्था एवं व्यक्तिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *