धनियाँ किन्दा ११ महिनामा बाहिरियो १ अर्ब १४ करोड

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न आयात कम गर्ने लक्ष्य लिएको छ । आयात ३० प्रतिशतले घटाउने र निर्यात २० प्रतिशतले बढाउने लक्ष्य बजेटको छ । यसले व्यापार घाटा कम गर्ने र विदेशी मुद्रा सञ्चितिमा समते टेवा पुग्ने सरकारको धारणा छ । तर, नेपाली भान्सामा अनिवार्य जस्तै बनेको मसलाजन्य कृषि खाद्य उपज धनियाँको आयात वर्षेनी बढ्दै गएको तथ्यांकले देखाउँछ ।

नेपालमा चालू  आर्थिक वर्षको ११ महिनामै १ अर्ब १४ करोड ५० लाख ९६ हजार रुपैयाँको धनियाँ आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार दाना र धुलो धनियाँ गरी कुल ९४ लाख ७९ हजार ९ सय ७३ किलो धनियाँ आयात गर्दा उक्त रकम बाहिरिएको हो ।

यसअघि आर्थिक वर्ष २०७७/७८ मा ९६ करोड १६ लाख ७ हजार रुपैयाँको धनियाँ आयात भएको थियो । उक्त वर्ष ८१ लाख ३३ हजार २ सय ६३ किलो धनियाँ आयात भएको थियो ।

त्यसअघिको वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ को १२ महिनामा ८६ करोड ६३ लाख ७३ हजार रुपैयाँमा ७० लाख ९० हजार १ सय ३५ किलो धनियाँ आयात भएको थियो ।
धनियाँको साग (हरियो धनियाँ) भने भारतबाट नगण्य मात्रामा आउने भन्सार विभागले जनाएको छ ।

धनियाँको उत्पाकत्व कम हुने, प्रतिफल कम प्राप्त हुने भएकाले नेपालमा धनियाँको दाना तथा धुलो उत्पादनका लागि गरिने खेती नगन्य हुने गरेको कृषि विकास मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

त्यस्तै, जग्गाको खण्डीकरण, खतियोग्य जमिनको क्षयीकरण, युवाको विदेश पलायन जस्ता कारणले पनि देशमा कृषिजन्य उत्पादन गर्ने जनशक्ति र जाँगरिला व्यक्तिको अभाव हुँदा खति कम भएको देखिएको छ । यसले धनियाँको आयात प्रत्येक वर्ष बढ्दै गएको र यसले व्यापार घाटा बढाउन तथा मुद्रा सञ्चितिलाई कमजोर बनाउन सानै भए पनि भूमिका निर्वाह गरिरहेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *