बाँकेमा मातृ मृत्युदर दिन प्रतिदिन चुनौतीपूर्णः ६ महिनामा १४ सुत्केरीको मृत्यु

काठमाडौँ । बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८-०७९ को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका आमा सुरक्षा कार्यक्रम स्रोत व्यक्ति पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार जिल्लामा ६ महिनामा नेपालगञ्ज उपमहानगरपालिकामा ६, जानकी गाउँपालिकामा तीन, राप्ती सोनारी र नरैनापुरमा दुई–दुई तथा कोहलपुरमा एक सुत्केरीको ज्यान गएको छ ।

अधिकांश महिलाको सुत्केरीपश्चात् अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ । अस्पतालमा ४३ प्रतिशत, बाटोमा २९ प्रतिशत र १४ प्रतिशतको घर तथा १४ प्रतिशतको अन्य ठाउँमा मृत्यु हुने गरेको तथ्याङ्कमा पाइएको छ । उनन्तीस प्रतिशतको अत्यधिक रक्तश्राव र २१ प्रतिशतको रगतको कमीका कारण मृत्यु भएको पाइएको हो । मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाका अनुसार गम्भीर अवस्थामा पुगेपछि मात्र अस्पतालमा आउँदा अधिकांश महिलाको अकालमा मृत्यु हुने गरेको छ । उनले भनिन्, “नियमित रूपमा गर्नुपर्ने जाँच नगरी व्यथा लागेर अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल पुग्ने गरेका कारण उनीहरूलाई बचाउन गाह्रो हुन्छ। कतिपयमा रक्तचाप, मधुमेह, थाइराइडजस्ता समस्या देखिने गरेको छ ।”

बाँकेमा आर्थिक वर्ष २०७७-०७८ मा ४६, २०७६-०७७ मा ३५ र २०७५-०७६ मा २९ सुत्केरीको ज्यान गएको थियो । मातृ मृत्युदर बढ्नुमा बालविवाह गर्नु, उमेर नपुग्दै गर्भवती हुनु, पोषणको कमी हुनु लगायतका कारण रहेको डा. थापाले बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *