कास्कीको मादीले ल्यायो बजेट, ६५ करोड ४८ लाख अनुमान

पोखरा । कास्कीको मादी गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको लागि ६५ करोड ४८ लाखको बजेट ल्याएको छ । चालू वर्षका लागि मादीले ६२ करोड २२ लाखको बजेट ल्याएर कार्यान्वयन गरिरहेको छ । चालू वर्षको भन्दा आगामी वर्ष ३ करोड भन्दा बढी बजेट ल्याइएको हो ।

पालिकाले क्षेत्रगत रूपमा बजेट विनियोजन गरेको छ । सबैभन्दा धेरै सामाजिक विकासमा ३२ करोड ८८ लाख छुट्याइएको छ भने पूर्वाधारमा १४ करोड २५ लाख, सुशासन तथा संस्थागत विकासमा १२ करोड ७ लाख, आर्थिक विकासमा ५ कराेड ४२ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मादीले आगामी वर्ष संघ, प्रदेश र पालिकाको साझेदारीमा गाउँपालिका भवन र स्वास्थ्य चौकी निर्माण गर्ने बताएको छ । यसका लागि २ करोड ७६ लाख छुट्याइएको छ । सबै टोल बस्तीमा यातायातको सहज पहुँच पुर्‍याउन ५ करोड ९७ लाख, याङ्जाकोटदेखि भाचोक हुँदै नागिधार जोड्ने सडकका लागि १ करोड ६० लाख, मर्मत सुधारका लागि २ करोड २२ लाख, झोलुङ्गे पुल र वैकल्पिक ऊर्जा प्रवर्धन गर्न ४८ लाख विनियोजन गरिएको अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

आगामी वर्षको बजेट निर्माण शुरु भएका भौतिक पूर्वाधारका कामलाई पूर्णता दिने गरी बजेट छुट्याएको उनले बताए । यस्तै, कृषि उत्पादन र बजारीकरणको व्यवस्था गर्ने, स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्ने, सेवा प्रवाहलाई नागरिक मैत्री बनाउने, पारदर्शिता र जबाफदेहिता कायम गर्दै सुशासनको अनुभूति दिलाउने लगायत कार्यक्रम ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *