‘योगलाई हाम्रो शिक्षाको अंगका रूपमा विकास गर्दै लैजानुपर्छ’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको बताएकी छन्।

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै भौतिक विकासबाट प्राप्त हुने मानवीय खुसीलाई योगाभ्यासबाट प्राप्त हुने सकारात्मक ऊर्जासँग जोड्दै सुखी, समुन्नत र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई सफलता प्राप्त हुने उल्लेख गरेकी छन्।

सन्देशमा योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकाले यसकारण योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभएर चिन्तनसहितको क्रिया मानिएको उल्लेख छ। निश्चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

योगको विकासमा नेपाली सभ्यताको योगदानबारे हाम्रा विद्वान–विदुषी, अध्येता एवं योगगुरुहरूबाट प्रशस्त प्रकाश पारिएको सन्देशमा उल्लेख छ। नेपालको भूमिमा उद्भव एवं विकास भएको मानिने शिव, जनक, बुद्ध, किरात र बोन सभ्यतामा योगको विशिष्ट स्थान रहेको उल्लेख गरिएको सन्देशमा सामाजिक र सांस्कृतिक जीवनशैलीसँग जोडिएका वास्तुकला, चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति रहेको र योगलाई हाम्रो शिक्षाको अङ्गका रूपमा विकास गर्दै यसबारे हुने अध्ययन अनुसन्धानलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता पनि उल्लेख छ।

यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योगका आठ सोपान अर्थात् अष्टाङ्ग योग नामकरणबारे सन्देशमा उल्लेख छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो। ‘मानवताका लागि योग’ भन्ने मूल अभिप्रायका साथ यो दिवस मनाइँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =